अर्घाखाँची – जिल्लामा स्थानीय निकायको निर्वाचमा खटिने म्यादी प्रहरीका लागि १८ सय २५ जनाले आवेदन दिएका छन् । चैत्र गते ११ गते देखि १७ गतेसम्म लिइएको आवेदनमा १५ सय २ जना पुरुष र ३ सय २३ जना महिलाले आवेदन फर्म भरेका हुन् । आवदेन दिनेमा ५० वर्षदेखि ५६ वर्ष सम्मका पनि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले प्रहरीमा भर्ना गर्नका लागि पुर्याइने सम्पूर्ण पक्रिया पुरा गरेर मात्र म्यादी प्रहरी छनोट गरिने बताए । ‘शनिवार र आइतबार दुई दिन लगाएर छनोट गर्दैछौं’ उनले भने, ।
‘नेताहरूले म्यादी प्रहरी नहो, चुनावमा हिड, चुनाव जितेपछि जागिर लगाइदिन्छु भन्थे’
११ गते आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको भिड लागेको थियो । तर कति संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भन्ने विषयमा माथिबाट जानकारी अझै नआएको प्रहरी निरीक्षक प्रदिप डिसीले बताए ।
ग्रामिण स्तरमा बेरोजगार बसिरहेका अधिकांश युवाहरू म्यादी प्रहरी बन्ने दौडधुपमा लागेका छन् । राजनीतिक दलका नेताहरूले आफ्ना पार्टीमा आवद्ध युवाहरूलाई म्यादी प्रहरीमा नगएर चुनावमा केन्द्रीत हुन आग्रह गरेपनि उनीहरू पार्टीका पछि नलागेर रोजगारीका लागि अघि सरेका हुन । म्यादी प्रहरी हुन आएका सिमलपानीका एक युवाले चुनावमा लाग्न भनि दलका नेताहरूले विभिन्न आश्वासन दिएपनि पनि आश्वासनको विश्वास नलागेर म्यादी हुन आएको बताए । ‘म्यादी प्रहरी नहो, चुनावमा हिड, चुनाव जितेपछि जागिर लगाइदिन्छु भन्थे’ उनले भने, चुनावको मुखमा आएर दिने आश्वासनको कुनै ठेगान हुँदैन ।’ म्यादी प्रहरी भएपछि सेना, प्रहरी, विदेशमा सुरक्षा गार्ड लागायतका अवसर मिल्ने हुँदा पनि युवाहरूको आकर्षण बढेको हो । म्यादीका लागि ५५ दिनको प्रहरी जवान बरावरको तलव र खाना उपलव्ध हुने प्रहरी प्रमुख कोइरालाले जानकारी गराए ।
प्रकाशित: १८ चैत्र २०७३ १०:३८ शुक्रबार