समाज

आठ पासको जागिरको लागि डिग्री पासको आवेदन

पाल्पा– नेपालमा पछिल्लो समय सरकारी जागिरमा युवा आकर्षण बढेको छ । यसवर्ष सरकारले आवेदन माग गरेको खरिदार, वन रक्षक र म्यादी प्रहरीमा युवाहरूको आकर्षण बढेकोे हो। 

जिल्लामा खरिदार पदमा नौ सय ४८, वन रक्षकमा नौ सय ८० र म्यादी प्रहरीमा एक हजार चार सय १३ ले आवेदन दिएका छन् । खरिदार पदका लागि ७८ जना, वन रक्षक पदका लागि ५१ जनाको बुटवल अञ्चल कार्यालय मार्फत् फारम आवेदन गरिएको थियो । म्यादी प्रहरीका लागि नेपालभर ७५ हजार आवेदन माग भएको थियो ।  

नेपाल वन सेवाको वनरक्षक पदका लागि जिल्ला हुलाक कार्यालयमा नौ सय ८० को आवेदन परेको छ । कक्षा आठ उत्तिर्णले आवेदन दिन पाउने उक्त पदमा स्नातकोत्तर तह उत्तिर्णहरुको पनि आवेदन परेको जिल्ला हुलाक कार्यालयले जनाएको छ । आवेदकहरू मध्ये ७५ प्रतिशत महिलाको आवेदन परेको कार्यालयका सूचना अधिकारी हरिहर गैरेले बताए । उनी भन्छन्, ‘सरकारी जागिरको मोहका कारण धेरैको आवेदन परेको छ ।’

‘आवेदन दिने २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरु छन्, शैक्षिक बेरोजगारहरुको उल्लेख्य आवेदन परेको छ । '

सरकारी जागिर सुरक्षित र भरपर्दा भएकोले युवाको आकर्षण बढेको गोविन्द भण्डारीले बताए। उनी भन्छन्, ‘आफ्नो क्षमता र व्यक्तित्व प्रस्तुत गर्न सरकारी जागिर उत्कृष्ण छ । प्रतिष्ठाको विषय बन्दा सरकारी जागिरतर्फ युवा आकर्षण भएको छ।’

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवेदन माग भएको म्यादी प्रहरीमा युवाहरुको आकर्षण देखिएको छ । सरकारले देशभर ७५ हजार म्यादी प्रहरीको भर्ना गर्ने जनाएसंगै पाल्पामा पनि म्यादी प्रहरीमा भर्ना हुन युवाको लाम लागेको हो।

म्यादी प्रहरीमा जिल्लामा एक हजार ४ सय १३ जनाले आवेदन दिएको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए । ‘आवेदन दिने २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरु छन्, शैक्षिक बेरोजगारहरुको उल्लेख्य आवेदन परेको छ । चुनावप्रतिको उत्साहका कारण युवाहरू आकर्षित भएका छन्।’ उनले भने । ‘खाली समयमा छोटो अवधिको अनुभवकालागि म्यादी प्रहरीमा भर्ना हुन आकर्षित देखिएका छन्,’ वाग्लेले भने। 

१८ वर्षपूरा भई ५४ वर्ष ननाघेकोले आवेदन दिन दिने व्यवस्था थियो । नेपाल प्रहरीको प्रहरी जवानले पाए सरहको तलव, भत्ता र तोकिए बमोजिमको अन्य सुविधा उपलव्ध गराईनेछ । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीमा काम गरी अवकाश भएका पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा काम गरेका अनुभविहरुले समेत आवेदन दिएका छन्। 

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक भएको हुनुपर्ने, आवश्यक न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहराएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने प्रावधान तोकेको छ। 
अनुशासन, सीप, कला र पछि सुरक्षा क्षेत्रमा प्रवेश गर्न पनि सहज हुने भन्दै भर्नामा युवाको आकर्षण बढी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । म्यादी प्रहरीका लागि आवेदन दिने युवाहरूले पछि सुरक्षा क्षेत्रमा प्रवेश गर्न सहयोग हुने भएकाले पनि म्यादीमा मन गएको बताएका छन् । फारम भरेका अधिकांश विद्यार्थीले भने आफ्नो पढाईलाई सहयोग पुग्ने र निर्वाचन सम्पन्न गर्ने आम नेपालीको दायित्व पूरा गर्न म्यादीमा भर्ना हुन चाहेको प्रतिकृया दिएका छन्।

लोकसेवा आयोगले आयोगका सबै क्षेत्रीय कार्यालय, अञ्चल कार्यालयस“गै जिल्ला हुलाक कार्यालय मार्फत आवेदन फाराम संकलन गरेको थियो। त्यस्तै म्यादी प्रहरीमा भने जिल्ला प्रहरी कार्यालय मार्फत् भारम भर्ने व्यवस्था गरिएको थियो। 

 

प्रकाशित: १८ चैत्र २०७३ ०६:४४ शुक्रबार

पासको जागिरको लागि डिग्री पासको आवेदन