समाज

बढ्यो तपक्रमः तराईमा ४३ डिग्री पुग्न सक्ने, ‘लु’ को सम्भावना

फाइल तस्बिर

पछिल्ला तीन दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ। अत्याधिक गर्मीका कारण सबैभन्दा बछि तराईको जनजिवन प्रभावित भइरहेको छ। सर्वसाधारणको जिवन अत्याधिक तापक्रमले गर्दा कष्टकर भइरहेको छ। यसबाट सबैभन्दा बढि स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु प्रभावित भएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले तापक्रम वृद्धि हुने क्रम दुई/तीन  दिन जारी रहने जानकारी दिए। ‘तराईका जिल्लाहरुको अधिकतम तापक्रम ४०÷४१ डिग्रीको हाराहारीमा पुगेको छ’, उनले नागरिकन्यूजसँग भने।

महाशाखाका अनुसार बुधबार काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव २ डीग्री सेल्सियस पुगेको थियो। तराईंका जिल्लाहरुमा बुधवारसम्म अधिकतम तापक्रम ४१ दशमलव २ पुगेको छ। बुधबार मात्र सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ थियो भने भैरहवाको ४० दशमलव ९ पुगेको थियो।

‘आज वा भोली सुदुरपश्चिमलगायत केहि पहाडी जिल्लामा पानी पर्ने सम्भावना देखिएपनि काठमाडौं लगायत तराईंका जिल्लाहरुमा पानी पर्ने देखिदैन। त्यसैले तापक्रम अझै बढन सक्छ’, मौसमवीद् झाले भने।

उनले भने,‘काठमाडौंलगायत तराईंका जिल्लाहरुमा गर्मी अत्याधिक बर्ढीरहेको छ। अरेबियन सागरबाट आएको हावाको प्रभावले सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा पानी पर्ने सम्भावना पनि छ। तर काठमाडौं र तराईंका जिल्लाहरुमा त्यो हावाको प्रभाव छैन्।’

झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान उनको छ।

‘तराईं क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्छ। यसरी नै गर्मी बढ्दै गए तातो हावा (लु) चल्ने सम्भावना पनि त्यत्तिकै छ’, झाले भने। उनले लुले गर्दा जनजिवन कष्टकर हुने बताए।

घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न झा सुझाव दिन्छन्। यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानीयुक्त फलफूलहरु खान, खेतबारीको काम बिहान र बेलुका मात्रै गर्न उनले सुझाव दिए।

प्रकाशित: १८ जेष्ठ २०८० ११:१८ बिहीबार

जल तथा मौसम पूर्वानुमान महाशाखा मौसमवीद् गोविन्द झा तातो हावा (लु) अधिकतम तापक्रम