समाज

कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित

फाइल तस्बिर।

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाउँपालिका र भरतपोखरीमा बढी देखिएको छ। 

कास्कीमा मात्रै १ हजार १ सय भन्दा बढी पशु चौपायामा लम्पीको संक्रमण देखिएको छ। लम्पीकै संक्रमणबाट कास्कीमा ५० वटा गाईबस्तु मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पोखराले जनाएको छ।

केन्द्रका प्राविधिक अधिकृत पुष्पराज बास्तोलाका अनुसार कास्कीमा पशु चौपायामा पूर्ण खोप अभियानले केही हदसम्म नियन्त्रण गरेको छ। 

‘लम्पी नयाँ रोग हो,’ उनले भने,’ रोगको संक्रमण नियन्त्रण गर्न आवश्यक खोप समेत लगाइयो।’

लम्पीको संक्रमण देखिएपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने, खुट्टा सुनिने गर्छ। दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने उनको भनाई थियो।

भेटेरेनरी अस्पतालले पशु चौपायामा पूर्ण खोप अभियान चलाउँदै आएको छ। पूर्ण खोप अभियानले पनि पशु चौपायामा रोग प्रतिरोधात्मक क्षमता बढाएकोले लम्पीको संक्रमण कम देखिएको उनको बुझाई थियो। 

‘गत वर्षदेखि कास्कीमा पशु चौपायामा पूर्ण खोप अभियान चलाएका छाैँ’ उनले भने, ‘पूर्ण खोप अभियानले पनि संक्रमण नियन्त्रणमा प्रभावकारिता देखियो।’

लम्पी स्किनको संक्रमण देखिएपछि महानगरले ४ हजार २ सय खोप खरिद गरेको थियो। खोपलाई भेटेरेनरी अस्पतालको प्राविधिक सहयोगमा महानगरभित्रका पशु चौपायालाई खोप लगाईएको छ। कास्कीका रुपा गाउँपालिकाले २ हजार, माछापुच्छ्रे गाउँपालिकाले २ हजार र अन्नपूर्ण गाउँपालिकाले पनि २ हजार खोप खरिद गरेका छन्। खरिद गरिएको लम्पी स्किन विरुद्धको खोपलाई केन्द्रकै सहयोगमा संक्रमित पशुलाई लगाइएको उनले बताए। पूर्ण खोप अभियानसँगै लम्पी स्किन प्रतिरोधात्मक खोप लगाएपछि संक्रमण दर कम भएको प्राविधिक अधिकृत बास्तोलाले सुनाए।

लम्पी स्किन सरुवा रोग हो। संक्रमित पशुलाई माखा वा लामखुट्टेले टोकेर अन्य पशुलाई टोके लम्पी स्किन सर्छ। ‘लम्पी लागेपछि पशु चौपाया बढीमा १५ दिनभित्र मर्ने गर्छन्,’ उनको भनाई थियो।

कास्कीमा पशु चौपायामा खोरेत रोगले सताउँदै आएको छ। खोरेतकै कारण दूधजन्य उत्पादनमा कमी आएको थियो। बाख्रामा पिपिआर खोप लगाएपछि समस्या देखिएको छैन। खोपलाई गण्डकी प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको हो। खोप अभियान २०७७/७८ बाट सुरु भएको हो। खोप अभियानले किसानलाई अहिले राहत भएको केन्द्रका प्राविधिक अधिकृत बास्तोला बताउँछन्,’‘कास्कीमा यही जेठभित्र महानगरसँगै चारवटै पालिकामा पूर्ण खोप अभियानलाई पूर्णता दिने छौं’ अधिकृत बास्तोलाले भने।

तथ्यांक अनुसार रेबिज विरुद्धको खोप ४ हजार २ सय, बाख्राको लागि ९० हजार पिपिआर खोप लगाइयो। गाई गोरु तथा भैँसीलाई खोरेतको ७० हजार खोप लगाइएको थियो। त्यस्तै भ्याकुते तथा चर्चरे जस्ता रोगको समेत २५ हजार खोप लगाइसकिएको छ। बंगुरमा देखिने स्वाईन फिवर विरुद्ध १४ हजार खोप लगाईएको तथ्यांक केन्द्रसँग छ। ‘मादी र रुपा गाउँपालिकामा पूर्ण खोप अभियान चलिरहेको छ’ उनले भने,‘जेठभित्र खोप लगाई सकिन्छ।’

प्रकाशित: १८ जेष्ठ २०८० ०९:४१ बिहीबार

कास्की लम्पी स्किन