समाज

सम्पदा संरक्षणमा स्थानीयका चासो

काठमाडौं- त्रिपुरेश्वर क्षेत्रको पुरातात्विक तथा सांस्कृतिक सम्पदाको उचित पहिचान र संरक्षण नभएको स्थानीय बासिन्दाले बताएका छन्। त्रिपुरेश्वरको पाञ्चायन घाटदेखि टेकु पचलीघाटसम्मका सम्पदा जथाभावी प्रयोगले नाश हुन लागेको भन्दै उनीहरूको चिन्ता छ।

त्रिपुरेश्वर टोल सुधार समितिले शनिबार आयोजना गरेको कार्यक्रममा स्थानीयले त्रिपुरेश्वर क्षेत्रका सम्पदाको संरक्षणको साटो जथाभावी प्रयोगलाई प्रोत्साहन गरेको भन्दै विरोध गरे। सम्पदाको उपयोग तथा व्यवस्थापनमा स्थानीयलाई बेवास्ता गरिएको उनीहरूको भनाइ थियो।

समितिका उपाध्यक्ष विमल अर्यालले भने, 'कति सम्पदालाई कसरी र के काममा प्रयोग गरिएको छ भन्ने हामीलाई थाहा नै छैन। हेर्दाहेर्दै विभिन्न विकृति भित्रिएको हामीले पाएका छौं।'

सीमाविद् बुद्धिनारायण श्रेष्ठले पनि यस क्षेत्रमा रहेका गुठी, मठमन्दिरलगायतका सम्पदाको संरक्षण नभएको बताए। गुठी तथा मठमन्दिरका नाममा रहेको जग्गाको लगतसमेत नभेटिएको उनको भनाइ थियो।

गुठी संस्थानलेे त्रिपुरेश्वर महादेवको मन्दिर काठ्माडौं विश्वविद्यालयलाई एथ्नोम्युजिकोलोजी डिपार्टमेन्ट बनाउन दिन गरेको सम्झौताको पनि स्थानीयले विरोध गरेका छन्। गुठी संस्थानले काठमाडौं विश्वविद्यालयलाई लोकसंगीत पढाउनका लागि त्रिपुरेश्वरको मन्दिर दिने सम्झौताअनुसार काम भइरहेको काठमाडौं विश्वविद्यालय संगीत विभागका प्राध्यापक डा. लोचन रिजालले जानकारी दिए।

स्तम्भकार सौरभले मन्दिर क्षेत्रमा कक्षा सञ्चालन गर्न दिन नहुने बताए। त्रिपुरेश्वर मन्दिर भीमसेन थापाकी भतिजी तथा रणबहादुर शाहकी रानी त्रिपुरासुन्दरीको नामबाट बनाइएको हो।

प्रकाशित: १५ चैत्र २०७३ ०२:१७ मंगलबार

सम्पदा संरक्षणमा स्थानीयका चासो