समाज

इन्जिनियरिङमा बजारको माग र उत्पादनबीचको खाडल पुर्नु पर्नेमा जोड

बजारको माग र शैक्षिक संस्थाहरुले उत्पादन गर्ने इन्जिनियरिङका जनशक्तिबीच मेल खानुपर्नेमा जोड दिइएको छ।  

बजारले एक थरी क्षमता भएको जनशक्ति खोजिरहने तर शैक्षिक संस्थाहरुले त्यस अनुकुलको विद्यार्थी तयार गर्न नसकेको भन्दै माग र आपूर्तिवीच मेल खानुपर्नेमा जोड दिइएको हो।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरले मंगलबार गरेको मार्ग निर्देशन कार्यक्रमका वक्ताहरुले जनशक्ति माग गर्ने उद्योग र शैक्षिक जनशक्ति उत्पादन गर्ने कलेजहरुवीच आपसी अन्तरसम्बन्ध नहुँंदा यस्तो समस्या देखाएको बताए। बजारमा इन्जिनियरहरुको माग र क्षमताबारे जानकारी दिन कलेजमा सिभिल, आर्किटेक्ट र सिभिल एण्ड रुरल विषयमा अन्तिम वर्ष अध्ययनरत विद्यार्थीका लागि विशेषबाट मार्गनिर्देशन दिइएको थियो। 

माग निर्देशनका वक्ता सोसाइटी अफ कसल्टीङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्का उपाध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्मा, सदस्यद्धय नारायणहरि रिजाल, उज्ज्वलमान शाक्य र  आयोजक कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले यस्तो बताएका हुन्। उनीहरुले पास आउट हुन लागेका विद्यार्थीलाई पेपर प्रिजेन्टेशन गरी इन्जिनियरिङ क्षेत्रका विभिन्न विषयहरुबारे जानकारी दिलाएका थिए।

नेपालमा हरेक वर्ष इन्जिनियर हुनका लागि इन्जिनियरिङ पढ्नेहरुको अहाकर्षण बढ्दो छ। प्रत्येक वर्ष १० हजार भन्दा बढी विद्यार्थी उत्पादन भइरहेका छन्। नेपालमा इन्जिनियरिङ अध्यापन गर्ने चार सरकारी क्याम्पस पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, पूर्वाञ्चल क्षेत्रीय क्याम्पसहरु छन्। यीबाहेक त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत र सम्बन्धमा इन्जिनियरिङ पढाउने क्याम्पसहरू प्रशस्त छन्।

प्रकाशित: १६ जेष्ठ २०८० १३:४२ मंगलबार

इन्जिनियरिङ