समाज

व्यवसायिक माछापालनमा आकर्षित हुँदै कृषक

पर्सा खजुरियास्थित एक पोखरीबाट निकालिएको ताजा माछा । तस्विर : रितेश त्रिपाठी

वीरगंज – परम्परागत खेतीभन्दा करिब ३ गुणा बढी र नगद मैं आम्दनी हुने स्रोतको रुपमा माछापालन भरपर्दो देखिएपछि पर्साका किसानहरू व्यवसायिक माछापालनमा आकर्षित भएका छन् । खेतको जग्गामा पोखरी खनेर माछापालन गर्ने किसानहरुको संख्या यहाँ बढ्दो छ । 
यस कारण भारतबाट आयातित माछा उपभोग गर्दै आएको पर्सा जिल्ला अब देशको अरु भागमा यहाँबाट माछा पठाउने आपुर्तीकर्ता बनेको छ । माछाका कारोबारीहरुका अनुसार जिल्लामा उत्पादित माछाले स्थानीय बजारबाट आयातित माछा विस्थापित गर्दै लगेको छ । त्यससँगै वीरगन्जबाट दैनिक करिब २० हजार किलो माछा काठमाडौँ र अरु सहरहरुतिर निकासी हुने गरेको छ । ‘यसमा पर्साका किसानका पोखरीहरूबाट आउने माछा ४० प्रतिशत रह्ने गरेको छ, अरु बारा र कहिलेकाँही रौतहटबाट पनि माछा ल्याएर बाहिर पठाउने गरिएको छ,’ माछाका एक जना कारोबारी बिपिन साहले भने, ‘जे होस पछिल्लो समयमा कारोबारको लागि पर्सामैं माछा पाइने बढेको छ ।’
पर्सामा करिब साढे ३ सय हेक्टर जलाशय रहेको साना ठूला गरी एक हजार २ सय वटा पोखरीमा करिब दुई हजार मेट्रिक टनभन्दा बढी माछा उत्पादन हुने गरेको छ । जिल्ला कृषि कार्यालयका अनुसार पछिल्लो समयमा नयाँ पोखरी तयार गरी माछापालन गर्ने किसानको संख्या बढ्दै गएको छ । यहाँ उत्पादित करिब २५ प्रतिशत माछा जिल्लाबाट निकासी भएर काठमाडौं र अरु ठाउँमा पुर्याउने गरिएको छ । ३ देखी ६ इन्चसम्मका माछा विशेष गरेर दैनिक रुपमा राजमार्ग छेउका होटेलदेखी तारे होटेलसम्ममा वीरगन्जबाट दैनिक रुपमा जाने गरेको कारोबारी बताउँछन् । 
पोखरीबाट झिकिएको माछा थोक कारोबारीले किन्ने गरेका छन् । किसानका पोखरीबाट संकलन गरेको माछा बरफको चिसो क्यारेटमा राखेर अर्को २४ घण्टाभित्र, तयारी पारेर खानको लागि पस्कने होटेलहरूमा पुगिसक्छ । ‘तुलनात्मक रुपमा यसलाई निकै ताजा र स्वस्थकर भन्न सकिन्छ, आयातित माछा हप्तौं पुरानो हुन्छ,’ साहले भने । जिल्लाबाट माग अनुसार जिउँदै माछा निकासी पनि हुने गरेको छ । पर्साबाट जिउँदै माछा निकासी गर्ने प्रमुख किसान मधुवनमथवलको खजुरियाका विशाल सहनीले काठमाडौं र पोखरामा यसको माग बढ्दो रहेको बताए । 
‘आफ्नै पोखरी खनेर माछा पालन गर्न थालेको ७ वर्ष भयो, काठमाडौंमा जिउँदो माछा पठाउने कारोबार थालेको करिब २ वर्ष,’ माछापालन र यसको कारोबार दुईवटैमा सफल मानिएका सहनीले अनुभव सुनाए, ‘करिब साढे १० बिगहा जग्गामा पोखरी खनाएर माछापालन सुरु गरेका थिए, यस विचमा पोखरी कै आम्दानीबाट थप चार बिगहामा खनिएको पोखरी जोड्न पाएको छुँ । मसंग अहिले १४ बिगहा पोखरी र १ करोड बढी लागतको माछा ह्याचरी छ ।’ उनले व्यवसायको आम्दनीसंगै ७५ लाख रुपैया बैंकको ऋण पनि लगानी गरेका छन् । 
। पर्सा, बारा र चितवनमा माछापालन गर्नेहरु बढ्दै गएकोले, उनीहरुलाई लक्ष्य गरी भुँरा माछाको माग हेरर सहनीले १० करोड संख्यामा माछाको भुरा उत्पादन गर्न सक्ने ह्याचरी बसालेका हुन् । माछापालन गर्ने किसानलाई फाइदा छदैछ यसको व्यवसायमा पर्सामा हजारभन्दा बढीले रोजगारी पाएका छन् । 

 

प्रकाशित: १३ चैत्र २०७३ ०६:०८ आइतबार

व्यवसायिक माछापालनमा आकर्षित हुँदै कृषक