समाज

१० महिना पछि खुल्यो गोरखा अस्पतालमा फार्मेसी

गोरखा अस्पताल हातामा फार्मेसी उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी । तस्विर : नरहरि सापकोटा

गोरखा – ५० शैयाको गोरखा अस्पतालमा १० महिना देखि बन्द फार्मेसी सुचारु भएको छ । कर्मचारीले आर्थिक अपचलन गरेपछि गत असारदेखि बन्द रहेको अस्पताल फार्मेसीको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रवार पुनः शुभारम्भ गरेका हुन् । 
मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारी दुई साताअघि गोरखा अस्पतालमा आएपछि उनले फार्मेसी सुरु गराएका हुन् । ‘बाहिर औषधी पसलमा भन्दा २० देखि ३० प्रतिशत सस्तोमा हामीले अस्पतालको फार्मेसीबाट औषधी दिन्छौँ’ उनले भने । अस्पतालको फार्मेसीमा बिरामीले एक सय ५५ प्रकारका औषधी खरिद गर्न पाउँछन् भने ३७ प्रकारका औषधी निशुल्क बितरण गर्ने गरी राखिएको छ । ‘पाँच लाख रुपैयाँको औषधी खरिद गरेर र केही निशुल्क आएका औषधी मिलाएर राखेका छौँ’ डाक्टर तिवारीले भने ‘कुनैपनि औषधी बाहिर किन्नु नपर्ने गरी सेवा सञ्चालन गर्ने योजनामा छौँ ।’ २०६९ सालमा अस्पतालले फार्मेसी सञ्चालन गरेपनि व्यवस्थित रुपमा चलाउन नसक्दा गोरखा अस्पतालमा उपचार गराउने बिरामीले मेडिकलबाट महँगोमा औषधी खरिद गर्न बाध्य थिए । 
भिडियो एक्सरे गर्ने विषेशज्ञ नहुँदा मेडिकमा गराउन बाध्य बिरामीले भने एक साता यता सेवा पाएका छन् । अस्पताल प्रमुख डाक्टर तिवारीले एक्सरे सेवा आफैँले दिन थालेपछि सुचारु भएको छ । अस्पतालमा विद्युत क्षमता नपुग्दा भने  (ट्रान्सफर) नहुँदा पाँच सय एमए क्षमताका एक्सरे मेसिन चलेको छैन । जसका कारण जटिल खालको एक्सरे भने अझै सुरु हुन नसकेको अस्पतालले जनाएको छ । फार्मेसीबाट २४ सै घण्टा सेवा दिनका लागि पाँच जना कर्मचारी व्यवस्थापन गरिएको विकास समितिले जनाएको छ । दरबन्दी अनुसार विषेशज्ञ चिकित्स नहुँदा अस्पतालमा ठूला रोगको उपचार भने हुने गरेको छैन् । १३ जना विषेशज्ञको दरबन्दी रहेको गोरखा अस्पतालमा अहिले सरकारी कोटामा सात जना मात्रै कार्यरत छन् । भूकम्पले भवन भत्किँदा गोरखा अस्पतालमा अहिले पनि टेन्टभित्र बेड राख्नुपर्ने अवस्था छ । ५० शैयाको अस्पतालमा विषेशज्ञ नहुँदा र उपकरण अभावले हरेकदिन बिरामी रिफर हुने क्रम केही घटेपनि रोकिएको भने छैन । 
 

प्रकाशित: ११ चैत्र २०७३ ०९:०३ शुक्रबार

१० खुल्यो गोरखा अस्पतालमा फार्मेसी