समाज

प्रेमिका हत्या प्रकरणमा दुई पक्राउ (भिडियाे)

काठमाडौं–  राधिका श्रेष्ठको हत्या काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणको घटनामा आफ्नो संलग्नताको पोल खुल्ने डरले श्रेष्ठको हत्या गरिएको र उक्त हत्या काण्डमा सम्लग्न रहेको भन्दै किशोर गिरी र सरोज घोरासैनीलाई पक्राउ गरेको प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। 

घटनाअनुसार फागुन ४ मा व्यापारी श्यामसुन्दर अग्रवाललाई अपहरण गर्ने योजना अनुसार राधिका श्रेष्ठ र किशोर गिरीसहित गणवहालस्थित भारत होटल होलिल्याण्डको ५०१ नम्बर कोठा लिई बसेको रहेछन्।

प्रहरीका अनुसार गत फागुन ५ को दिन दिउँसो १ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २५ मख्खन गल्लीस्थित न्यू डालिज साडी र साडी संसार पसलका सञ्चालक ६२ वर्षका अग्रवाललाई सोही पसलमा काम गर्दै आएकी श्रेष्ठमार्फत धादिङस्थित सनराइज गेष्ट हाउसमा बोलाएई अपहरणकारीले होटलको कोठा नम्बर ४०४ मा बन्धक बनाई फिरौती रकम असुल गरी फरार भएका थिए। 

प्रहरीका अनुसार महानगरीय प्रहरी अपराध महाशाखाबाट प्रहरी नायक उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको अनुसन्धान टोलीले अपहरणमा परेका श्यामसुन्दर अग्रवाललाई तत्काल सकुशल उद्वार गर्नुका साथै अपहरणकारीहरुलाई पक्राउ गरेको थियो। 

‘विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका मुख्य योजनाकार प्रकाश लामिछानेले प्रेमिका  राधिका श्रेष्ठलाई प्रयोग गरी अपहरणको योजना बनाए रहेछन्। अपहरणपछि पोल खुल्ने डरमा आफ्नै प्रेमिकाको हत्या गरेर उनी हाल फरार छन्,’ अनुसन्धान टोलीका प्र्रहरी नायक उपरीक्षक अजय केसीले भने, ‘प्रकाश लामिछानेको घरमा राधिका श्रेष्ठलाई कर्तव्य गरे पश्चातः मृतक शरीरलाई प्लाष्टिकको बोरामा प्याक गरी मोटरसाइकलमा राखेर घरबाट दुई सय मिटर तल मुहानपोखरी भन्ने स्थानमा लगी खाल्टोमा पुरी फरार भएका छन्।’

श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न फरार अपहरणकारीहरुको खोजतलास तथा अनुसन्धान गर्दै जाँदा सोही घटनामा संलग्न रही फरार रहेकी धादिङ जिल्ला घर भई कालीमाटी डेरा गरी बस्ने वर्ष २५ की राधिका श्रेष्ठको फागुन २० मा भक्तपुर बागेश्वरी गाविसस्थित मुहान पोखरीमा हातगोडा बाँधी मुखमा टेप लगाई माटोको खाल्डोमा सडेगलेको अवस्थामा मृत शरीर फेला परेको थियो।

घटनाअनुसार फागुन ४ मा व्यापारी श्यामसुन्दर अग्रवाललाई अपहरण गर्ने योजना अनुसार राधिका श्रेष्ठ र किशोर गिरीसहित गणवहालस्थित भारत होटल होलिल्याण्डको ५०१ नम्बर कोठा लिई बसेको रहेछन्। भोलिपल्ट उक्त होटल छाडेर प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरीले सुन्धारास्थित सन साइन होटलको दुई वटा कोठा ४०३ र ४०४ भाडामा लिईपछि अर्जेन्ट काम भन्दै व्यापारी श्याम सुन्दर अग्रवाल बोलाएका थिए।

सोही दिन करिव दुई बजेतिर व्यापारी श्याम सुन्दर र राधिका सन साइन होटलको ४०३ कोठामा बसी रक्सी सेवन गरेलगत्तै केहीसमयपछि प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरीले व्यापारीलाई कुटपिट गरी हाटखुट्टा बाँधेर मुखमा कार्टुन टेप लगाई अपहरण गरेर १० लाख ७० हजार रुपैयाँ फिरौती रकम लिई सोही कोठामा बन्धक बनाई फरार भएका थिए। 

अपहरणपछि सबैजना बसन्तपुरमा भेला भएर फिरौती रकम बाँडफाँड गरे। जसअनुसार सरोज घोरासैनेले दुई लाख, किशोर गिरीले दुई लाख र बाँकी रकम प्रकाश र राधिकाले राखे। फिरौती रकम बाँडफाँड गरेपछि प्रकाश र राधिका ट्याक्सी लिएर भक्तपुरको बागेश्वरीमा रहेको  घरतर्फ लागे। त्यस्तै किशोर र सरोज अर्को ट्याक्सी लिई प्रकाशकै घरमा पुगेको थिए। योजना अनुरुप अपहरणमा प्रयोग गर्न काठमाडौं जैसीदेवलस्थित कन्हैयालाल शाहले संञ्चालन गरेको जय गुरु स्टोरबाट खरिद गरिएको डोरी र कार्टुन टेपको सहायताले मुखमा टेप लगाई खुट्टामा डोरी बाधी, घाँटी थिची राधिका श्रेष्ठलाई कर्तव्य गरी मारेको प्रहरीको भनाई छ। 

‘मुख्य योजनाकार प्रकाश लामिछानेले व्यापारीको अपहरण पश्चातः आफूहरुको पोल खोल्ने डरले प्रेमिका राधिका श्रेष्ठको हत्या गर्ने योजना बनाएको र त्यसैअनुसार हत्या भएको पक्राउ परेका अभियुक्तहरुले दिएका छन्,’ एसएसपी दिनेश अमात्यले भने।

प्रकाशित: १० चैत्र २०७३ १२:४६ बिहीबार

प्रेमिका हत्या प्रकरणमा दुई पक्राउ भिडियाे