समाज

ढोडेनीमा सधैं खानेपानीको हाहाकार, मिटर छ पानी छैन

बजेट नहुँदा आयोजना अलपत्र

गैंडाकोट नगरपालिका ३ स्थित ढोडेनीमा खानेपानीको मिटर सबैको घरमा छ तर, त्यहाँका बासिन्दालाई बिहान उठेदेखि सुत्ने बेलासम्म पानीकै पिरलाे हुन्छ। घरमा मिटर भएपनि खानेपानी लिन दैनिक दुईघण्टा समय छुट्टाउनु पर्दछ।  

बिहान उज्यालो भएदेखि गाग्री बोकेर हिँडेका स्थानीय महिला २ घण्टापछि फर्किन्छन्। ढोडेनीस्थित आँपटोलकी सरस्वती आचार्यलाई चिन्ता नै पानीको हुन्छ। बिबाह गरेर आएदेखि आचार्यले पानी ल्याउन २ घण्टा समय खर्चिन्छिन्। ‘हामीलाई पानीको ज्यादै समस्या छ । एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्छ,’ ४० बर्षिय आचार्यले भनिन्, ‘घरमा मिटर छ पानी आउँदैन।’ उनको तीन जनाको परिवार छ। भैसी, बाख्रा र कुखुरा पनि पालेकी छन् । पानी ल्याउँदैमा एक जनाको दिन बित्ने उनले सुनाईन्।  

पानी ल्याउन कालिगण्डकी नजिकै रहेको लहरा खोलामा पुग्नु पर्दछ। ढोडेनीबाट एक किलोमिटर दुरीमा पर्छ। जाँदा ओरालो भएपनि आउने बेला उकालोमा पानीको गाग्रीसंग समस्या हुने चौतरा टोलकी जमुना गुरुङ बताउँछिन्। ‘पानी लिन जाने बाटो भिरालो छ। कतिपटक लडियो,’ ४ वटा बोत्तल झोलामा बोकेर पानीलिन हिँडेकी ५३ बर्षिय गुरुङले भिर देखाउँदै भनिन्, ‘जसरी भएपनि पानी खान पर्यो।’ पानी नभएर उनले वस्तुभाउ पनि पाल्न सकेकी छैनन्।  

यहाँका अधिकांश मानिसहरु नुहाउन र कपडा धुन खोलामा नै जाने गर्दछन्। पानी नहुँदा वस्तुभाउ कम पाल्दछन्। ढोडेनी छतिटार टोलका विष्णुहरी अधिकारी ट्यांकरमा ल्याएर पानी खाने गरेको बताए। ‘हाम्रोमा खानेपानीको समस्या आजको होइन । विगतदेखि नै हो,’ कुखुरा व्यवसायी समेत रहेको अधिकारीले भने, ‘ कुखुरालाई पानी चाहिने हुँदा ट्याङकरमा ३ हजार लिटर पानी ल्याएर तीन चार दिनलाई पुराउनुपर्दछ।’ उनका १ हजार ५ सयको हाराहारीमा कुखुरा छन्। यहाँ बर्खामा पनि खानेपानीकै समस्या हुन्छ।  

१ सय ५० घरधुरीमा नै खानेपानीको समस्या छ । यहाँ दुई बर्षअघि केवरा ढाप र जलुकेको पानी ल्याईएको छ। तर, आजभोलि धारामा पानी आउन छाडेको उनले बताए। ‘करिव ४ किलोमिटरबाट पानी ल्याएका छौँ। अघिल्लो बर्ष मिटर जोडेका थियौँ। सातामा एक दुईपटक मात्र सानो पानी आउँछ,’ मिटर देखाउँदै भने, ‘हामीले मासिक ८० रुपैयाँ तिर्नमात्र भएको छ।’ विशेष गरी यहाँ माघ, फागुन, चैत्र, बैशाख र जेठ महिनामा खानेपानीको हाहाकार नै हुन्छ। यद्यपि बर्खामा बाढीले गर्दा पानी धमिलो भएर खान नमिल्ने उनले बताए।  

गाउँमा कक्षा १० सम्मको स्कुल छ  । ३ सय २५ जना यो शैक्षिक सत्रमा भर्ना भएका छन् । पानीको अभावले गर्दा स्कुलका चर्पीहरू दुर्गन्धित हुने गरेको श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नाथ तिवारी बताउँछन्। ‘विद्यार्थीहरु घरबाट नै बोत्तलमा पानी लिएर आउँछन् । नपुगेको बाहिर मागेर खान्छन्,’उनले भने, ‘पानी नहुँदा शौचालय व्यवस्थापन गर्न नै निकै समस्या छ।’  

खानेपानी समस्यालाई समाधान गर्न गण्डकी प्रदेश सरकारको सहयोगमा कालिगण्डकीबाट लिफ्ट सिँचाई गरी पानी ल्याईदैछ। काम अगाडि बढेको पनि पाँच बर्ष पुग्यो । तर, निर्माण कार्य ढिला हुँदा समस्या भएको गैँडाकोट ३का वडाध्यक्ष शिवकान्त्त तिवारी बताउँछन्। ‘पानीको आयोजना पुरा गर्न पटक पटक पोखरा डेलिकेशन समेत गएका छौँ। ठेकेदारले पुरा पैसा नपाएर काम रोकेको छ,’उनले भने, ‘प्रदेश सरकारले पैसा भुक्तानी गरेको छैन।’  

यस आयोजना आयोजना ६ करोड ४७ लाख ४५ हजार रुपैयाँको आयोजना हो। जसमा ५ करोड १६ लाख ७५ हजार प्रदेश सरकार र १ करोड ३० लाख ७० हजार रुपैयाँ बराबरको श्रमदान गर्ने सहमति अनुसार आयोजना अगाडि बढेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी बामदेव पौडेल बताउँछन्। २०७५÷०७६बाट सुरु भएको आयोजनाको निर्माण काम कृपा कन्ट्रक्सनले गरेको छ।  

चालु आर्थिक बर्ष २०७९-०८०मा यस आयोजनाका लागि १५ लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो। तर, ठेकेदारले सो बजेटभन्दा बढीको काम गरेको छ। अझै २४ लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी दिन बाँकी रहेको आयोजना प्रमुख राजेन्द्र प्रसाद न्यौपाने बताउँछन्। उनका अनुसार ८० प्रतिशत काम सकिएको छ। काम समपन्न गर्न ७८ लाख रुपैयाँ बजेट आवश्यक पर्ने न्यौपानेले जानाकारी दिए। ‘अघिल्लो बर्ष काम हुन सकेन। त्यहाँको बजेट अन्यत्र नै सारियो। यो बर्ष थोरै बजेट विनियोजन भएको थियो,’ उनले भने ‘आवश्यक पर्ने बजेट आगामी बर्ष राखेर कामलाई अगाडि बढाउँछौँ।’

डेढ किलोमिटर तलबाट लिफ्ट गरेर खानेपानी ल्याईदैछ। त्यसका लागि डेढ लाख लिटर पानी अट्ने ट्यांकी निमार्ण भइसकेको छ। उपभोक्ताले गर्नुपर्ने गाड्ने र ठेकेदारको ब्यूटिफिकेसन र पानी लिफ्ट गर्न विद्युतीकरण गर्ने काम बाँकी छ। यसले साढे ४ सय घरधुरीलाई खानेपानी पुग्ने बताइएको छ।  

प्रकाशित: १५ जेष्ठ २०८० ०५:४५ सोमबार

ढोडेनीमा सधैं खानेपानीको हाहाकार मिटर छ पानी छैन