समाज

तावाखोलामा बन्यो मोटरेबल पुल

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटारस्थित तावाखोलामा मोटरेवल पुल निर्माण भएपछि अब दुई गाउँपालिकाबीच सहज आवतजावत हुने भएको छ।

पुल नहुँदा बर्खायाममा सवारी आवतजावत गर्न कठिनाई थियो। सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले भने, ‘हिउँद याममा खोलाको पानी कम हुँदा बाहेक खोलामा पानीको बहाव बढेको समयमा सवारीबाट आवतजावत सम्भव थिएन अब त्यो कठिनाई हुँदैन।

उनका अनुसार स्थानीय जलबिद्युत परियोजनाले खोलामा होमपाइप लगाएर सवारी आवागमन सुरु गर्ने प्रयास गरेको थियो। जलबिद्युत परियोजनाले १२ वटा होमपाईपमार्फत सवारी आवागमन गराउने गरी प्रयास गरेको भएपनि गत वर्षको बर्खायाममा २ वटा बाहेक सबै बगाईदिएपछि सवारी आवागमनको कठिनाई कायम थियो।

सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पुल बनेपछि दुईपालिकाबीच सवारी आवागमनको असहजता अन्त्य भएको बताए। ‘यसलाई एउटा समृद्धिको ठोस अभियान पूरा भएको रुपमा बुझ्नुपर्छ’चौहानले भने। तावाखोला पुल निर्माणको अग्रसरता लिएर शिलान्यास समेत गरेका गाउँपालिकाका पूर्व अध्यक्ष टीकाराम गुरुङ पुल निर्माणले विगतमा भोगेको कठिनाई अन्त्य गराएकोमा खुशी व्यक्त गरे। गुरुङ् भन्छन्, ‘सपना झैं लाग्ने यो कार्य पूरा भएपछि सिरिजङ्गा र सिदिङ्वाबीचको सवारी यातायात अब बाह्रैकालका लागि स्थायी हुने छ।’ 

३२.२ मिटर लम्बाई र फुटपाथ सहित ८.४ मिटर चौडाईको पुल निर्माणका लागि सुनसरी ईटहरीस्थित अञ्जना/हिमतारा जेभी कन्ट्रक्सनले २०७८ साल भदौ ४ गते सिरिजङ्गा गाउँपालिकासंग सम्झौता गरेको थियो। आउँदो भदौ ३ गते सम्म निर्माण अवधि भएपनि निर्माण व्यवसायीले समझौता अवधि भन्दा अघिनै पुल निर्माण कार्य पूरा गरेका छन्। 

भ्याट तथा पि.एससहित कूल ५ करोड ९१ लाख ६ हजार ९ सय ३७ रुपैयाँ लागत अनुमान रहेको पुल निर्माणका लागि अञ्जना/हिमतारा जेभी कन्ट्रक्सनले भ्याट तथा पि.एस सहित ४ करोड १० लाख ८ हजार ५ सय ९ रुपैयाँमा कवोल गरेको थियो। निर्माण व्यवसायीको कवोल अनुसार सम्झौता भएपछि गाउँपालिकाका तत्कालिन अध्यक्ष गुरुङले २०७८ साल असोज २१ गते पुल निर्माणको शिलान्यास गरेका थिए।  

प्रकाशित: १४ जेष्ठ २०८० ११:१४ आइतबार