समाज

महिला नेतृत्वको केन्द्र मर्यादित

सुर्खेत- पश्चिम सुर्खेतको सूर्यप्रकाश मावि पलैटे परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि निरीक्षकसम्म महिला छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को जारी परीक्षामा महिला मात्रैले नेतृत्व गरेको यो परीक्षा केन्द्र जिल्लामै ‘अब्बल’ देखिएको छ । ‘महिला मात्रै भएर काम गर्दा धेरै सहज भइरहेको छ’ केन्द्राध्यक्ष अमृता बुढाथोकीले भनिन्, ‘छात्रामैत्री वातावरण, मर्यादित र नमूना परीक्षा केन्द्रका रुपमा हामीले पलैंटे केन्द्रलाई स्थापित गर्न सफल भएका छौं।’

बुढाथोकी २०७१ सालदेखि सूर्यप्रकाश माविमा केन्द्राध्यक्ष छिन् । यसअघिका दुई वटा परीक्षामा पुरुष सहकर्मीहरुसँग काम गरेकी उनले चालू परीक्षामा सहायक केन्द्राध्यक्षदेखि निरीक्षकसम्म महिलालाई राखिन्। ‘पुरुषसँग भन्दा महिला सहकर्मीसँग काम गर्दा आफूलाई त सहज हुन्छ नै छात्रालाई झन सहज हुँदो रहेछ’ उनले भनिन्, ‘आजसम्मको परीक्षा मर्यादित, सभ्य र भब्य रुपमा सम्पन्न गर्न सफल भएका छौं।’

पलैंटे केन्द्रमा सहायक केन्द्राध्यक्ष कुष्मा आचार्य छिन्। पाँचै जना निरीक्षक पनि महिला छन् । सुरक्षाका लागि खटिएका १० प्रहरी मध्ये एक जना महिला छन् । ‘गेटमा चेकजाँच गर्नेदेखि परीक्षा हलभित्र सबै महिला हुँदा छात्राहरुले आफूलाई परेको समस्या सहज रुपमा राख्दा रहेछन्’ उनले भनिन्, ‘महिनावारी हुँदा, पेट दुख्दा, परीक्षामा लेख्न नसक्दा छात्राहरुले निर्धक्कसँग आफ्ना कुराहरु राख्दै आएका छन् ।’ केन्द्राध्यक्ष बुढाथोकीका अनुसार परीक्षा केन्द्रमै छात्राहरुका लागि सेनेटरी प्याडका साथै आकस्मिक उपचार सेवाको व्यवस्था गरिएको छ ।

सुर्खेत जिल्लामा रहेका ३० वटा परीक्षा केन्द्र मध्ये छ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष महिला छन् । पूर्वी सुर्खेतको बागेश्वरी मावि राकमकी केन्द्राध्यक्ष कौशिल्यादेवी सिंह महिला केन्द्राध्यक्ष हुँदा छात्राहरुलाई धेरै सहज हुने बताउँछिन् । ‘महिला केन्द्राध्यक्षसँग छात्राहरुले आफ्ना समस्याहरु निर्धक्कसँग राख्नुका साथै परीक्षा केन्द्रमा पारिवारिक वातावरण हुँदो रहेछ’ उनले भनिन्, ‘हाम्रो केन्द्रमा बहुमत महिला छौं ।’ बागेश्वरी मावि केन्द्रमा तीन जना महिला निरीक्षक छन् ।

वीरेन्द्रनगरको भैरव मावि, भैरवस्थान परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्षसहित नौ जना निरीक्षक महिला छन्। केन्द्राध्यक्ष भूमिसरा चपाईले महिला केन्द्राध्यक्ष र निरीक्षक हुँदा छात्राहरुले आफ्ना समस्याहरु नडराएर भन्न सक्ने बताइन् । ‘हामीले आफ्नो क्षमता अनुसार काम गर्ने हो, महिला र पुरुष भनेर भेदभाव गर्दैनौं’ उनले भनिन्, ‘तर केन्द्राध्यक्ष र निरीक्षक महिला हुँदा छात्राहरुलाई भने सहज हुँदो रहेछ।’ यसका साथै नेरा मावि, वीरेन्द्रनगरमा शान्ता चौधरी, भैरव मावि अवलचिङमा विमला रेग्मी, जनज्योति मावि बड्डीचौरमा भगवती कोइराला केन्द्राध्यक्ष छन् ।

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह महिला केन्द्राध्यक्ष भएको केन्द्र पुरुषको भन्दा कम नभएको बताए । ‘एउटा केन्द्रमा केन्द्राध्यक्षदेखि निरीक्षकसम्म महिला मात्रै हुनुहुन्छ, अरु पाँच वटामा महिला केन्द्राध्यक्ष हुनुहुन्छ’ उनले भने, ‘ति केन्द्रहरुमा मर्यादित र सफलरुपमा परीक्षा सञ्चालन भइरहेका छन्।’ उनले महिला केन्द्राध्यक्ष भएको केन्द्रमा छात्राहरुलाई अझ बढी सहज भएको आफूले पाएको बताए। ‘छात्राहरु आफूलाई परेको समस्या पुरुषलाई भन्दा महिलाहरुलाई भन्न सहज मान्छन्’ उनले भने, ‘परीक्षाजस्तो संवेदनशील अवस्थामा महिला केन्द्राध्यक्ष हुँदा छात्राहरुलाई धेरै सहज भएको हामीले पाएका छौं।’

 

प्रकाशित: ८ चैत्र २०७३ १४:०० मंगलबार

महिला नेतृत्वको केन्द्र मर्यादित