समाज

ढोरपाटनमा १० नाउर र ३ झारल शिकार गर्न पाइने

बाग्लुङ- ढोरपाटन शिकार आरक्षमा शिकार खेल्ने सिजन शुरु भएको छ। नेपालकै एक मात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा यो वर्षको दोस्रो सिजन सुरु भएको हो। यस सिजनमा १० वटा नाउर र ३ वटा झारलको शिकार गर्ने कोटा तोकिएको छ। शिकार गर्न चाहाने पर्यटकहरुलाई भित्र्याउनका लागि चारवटा शिकार एजेन्सीहरुले अनुमति पाएका छन् । यो सिजनमा हिमालयन सफारीले एक झारल सहित एक नाउर, ट्रेक्स एण्ड ट्रेल्सले दुई झारल सहित दुई नाउर, नेपाल वाईल्ड लाईफ सफारी प्रालिले तीन नाउर र ग्लोबल सफारिज नेपाल प्रालिले चार नाउरको शिकार गराउने अनुमति पाएको ढोरपाटन सिकार आरक्षका प्रमुख अणनाथ बरालले बताए।

यस सिजनमा एउटै झारलको शिकार गर्नका लागि शिकारीले १३ लाख रुपैयाँ तिनुपर्ने भएको छ। टेन्डर प्रतिस्पर्धाका आधारमा शिकारी भित्र्याउन कम्पनी छानिने भएकाले शिकार मूल्य बढेर गएको आरक्षका प्रमुख बरालले बताए । ‘फागुनमा टेन्डर आह्वान गरेका थियौं,’ प्रमुख बरालले भने,‘ हिमालयन सफारी प्रालि र ट्रेक्स एण्ड ट्रेल्सले प्रति झारल १३ लाख पाँच हजार तिर्नेगरी अनुमति लिएका छन् ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बढी रकम तिर्न तयार भएका ती दुई कम्पनीलाई चैत महिनाको पहिलो साताकै लागि झारल शिकारको अनुमति दिएको बरालले बताए।

यस सिजनमा एउटै झारलको शिकार गर्नका लागि शिकारीले १३ लाख रुपैयाँ तिनुपर्ने भएको छ। टेन्डर प्रतिस्पर्धाका आधारमा शिकारी भित्र्याउन कम्पनी छानिने भएकाले शिकार मूल्य बढेर गएको आरक्षका प्रमुख बरालले बताए ।

 हिमालयन सफारीले ढोरपाटन आरक्षको फागुने ब्लकमा एउटा र ट्रेक्स एण्ड ट्रेल्सले गुस्तुङ ब्लकमा दुईवटा झारलको शिकार गराउने अनुमति लिएको छ । एउटा झारलको शिकारका लागि तिरीएको यो रकम अहिलेसम्मकै सर्वाधिक बढि हो । शिकार एजेन्सीहरुले झारलको शिकारका लागि यस अघि सबैभन्दा बढि ९ लाख रुपैयाँ खर्चिएका थिए । नाउरको शिकारका लागि भने यो सिजनमा ८ लाख ७५ हजार रुपैयाँसम्म तिर्न कम्पनी तयार भएको वन्यजन्तु संरक्षण विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाले बताए ।

शिकार एजेन्सी ट्रेक्स एण्ड ट्रेल्सबाट पहिलो टोली शिकारका लागि ढोरपाटन गईसकेको बरालले बताए।  विदेशी नागरिकले शिकारका लागि यहाँ आउँदा २५ देखि ३० लाख रुपैयाँको हाराहारीमा खर्च गर्ने गरेका छन् । आरक्ष प्रमुख बरालका अनुसार, शिकार आरक्षमा नेपाल वाईल्ड लाईफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रेन्च शिकारीलाई सेङ र फागुने ब्लकमा शिकार गराउनेछ । ग्लोबल कम्पनीले दोगाडी, सेङ र सुन्दहमा विदेशी शिकारीलाई नाउरको शिकार गराउने  भएकोे छ ।

 यो सिजनमा शिकार अनुमतिबाट १  बढि राजस्व संकलन भएको छ । ‘यस पटक शिकार गराउनका लागि कम्पनीहरुले ठूलो बोली लगाएका छन्,’ आरक्ष प्रमुख भने,‘ यो सिजनमा एक करोड १३ लाख ८५ हजार २ सय ५० रुपैयाँ राजश्व जम्मा भएको छ ।’ ढोरपाटन शिकार आरक्षमा वन्यजन्तु विभागले हरेक वर्षमा दुई पटक (असोज–मंसीर) पहिलो सिजन र (फागुन–वैशाख) मा दोस्रो सिजन गरी शिकारको टेण्डर खोल्ने गरेको छ । अघिल्लो सिजन (असोज–मंसीर) मा शिकार अनुमतिबाट ३३ लाख ६८ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको थियो।

प्रकाशित: ६ चैत्र २०७३ ०९:४६ आइतबार

ढोरपाटनमा १० नाउर झारल शिकार गर्न पाइने