समाज

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ।

गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको संख्या दैनिक बढ्दै गएको छ। वर्षौं अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थित रूपमा व्यवस्थापन हुन सकेको छैन।

ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहर व्यवस्थापन गर्दै आएको छ। त्यसअघि भूजीखोलामा फोहर व्यवस्थापन गर्ने गरिएको थियो।

अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहर खोलामा बग्ने गरेको छ। अव्यवस्थित रूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ।

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ।

फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै खोला बडिगाड खोलामा मिसिन्छन्। फोहरबाट जलचर प्राणीलाई समेत असर पुगेको छ। अहिले फोहर व्यवस्थापन गर्दै गरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ।

बुर्तिबाङ-बोङ्गादोभान सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन्। पैदल यात्रुलाई फोहरको दुर्गन्धले समस्या भएको छ। बुर्तिबाङ बजारको फोहर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ। कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फाल्ने गरिएको छ। साँघुरो ठाउँ हुँदा फोहर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए। फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ।

फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै खोला बडिगाड खोलामा मिसिन्छन्। फोहरबाट जलचर प्राणीलाई समेत असर पुगेको छ।

‘बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौं, हालसम्म पाएका छैनौं’, उनले भने।

सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए। वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ। सिर्पाली भन्छन्, ‘फोहर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ।’

प्रकाशित: १२ जेष्ठ २०८० ०४:४७ शुक्रबार

बुर्तिबाङ बजार फोहर व्यवस्थापनमा समस्या