समाज

सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

फाईल तस्बिर

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो।

हालसम्म अन्नपूर्ण हिमालबाट तीन हजार पाँच सय ६७ किलो, बरुञ्चे हिमालबाट १८ हजार पाँच सय २० किलो र सगरमाथा तथा ल्होत्सेबाट १३ हजार छ सय २१ किलो गरी जम्मा ३५ हजार सात सय आठ किलो फोहर सङ्कलन भइसकेको निर्देशनालयले जानकारी दिएको छ।

सगरमाथा र ल्होत्से हिमाल सफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ। विश्व वातावरण दिवसमा काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिनेछ।

सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहणका सिलसिलामा अस्वस्थ भई उपचाररत नेपाली सेनाका चार जनालाई थप उपचारको लागि भारत लगिएको छ। अभियानका क्रममा दुई शेर्पा सहयोगीको भने निधन भएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० १४:५३ बिहीबार

सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन