समाज

यस्तो देखियो मत्यसेन्द्रनाथको भोटो जात्रा (तस्बिरहरु)

मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाइएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेकाछन्। राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गरे।

गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ। भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरु सहभागी थिए।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ। 

मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाः बाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। 

यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ।

तस्बिर: प्रसन गुरुङ/नागरिक

प्रकाशित: ११ जेष्ठ २०८० १२:३८ बिहीबार

भोटो जात्रा