समाज

मापदण्ड विपरीतका सडक रुकुम दुर्घटना कारण

बिहीबार दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत थप उपचारका लागी नेपालगन्ज लैजाँदै।

बिहीबार बिहानै रुकुम पश्चिममा गाडी दुर्घटना हुँदा २२ दिनको शिशु सहित ५ जनाको मृत्यु भयो।सान भेरी गाउँपालिका ५ मेलचौरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाफिकोट ८ दुलीमा दुर्घटना परेको थियो।

१५ जना सवार उक्त गाडीमा रहेका ५ जना गम्भीर घाइतेलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरि नेपालगन्ज पठाइयो। दुर्घटनामा ५ जनाले ज्यान गुमाए पछि यति बेला रुकुम पश्चिम स्तब्ध छ।मृतक र घाइतेका घरमा शोक र पीडा छ।

सडक मापदण्ड अनुसार नहुनु, सवारी साधन पुराना हुनु र क्षमता भन्दा बढी यात्रु बोक्नु दुर्घटनाका मुख्य कारण हुन।पछिल्लो समय स्थानीय सरकारले खनेका सडकहरू मापदण्ड विपरीत बनेका छन्।

जनप्रतिनिधिका आफ्नै डोजर प्रयोग गरेर अगाडी बढ्ने सडक नाम मात्रका छन् । सडक खन्दा नियमानुसार गर्नै पर्ने वातावरणीय परीक्षण मूल्याङ्कन गरिँदैन भने जनप्रतिनिधि र गाउँका स्थानीय टाठा बाठाको तजबिजमा सडक अगाडी बढ्ने गर्दछ।

देशका बिभिन्न स्थानमा दैनिक हुने सवारी दुर्घटनामा दर्जनौँ व्यक्तिले ज्यान गुमाउने गरेको तथ्याङ्क छ तर न्यूनीकरणमा चासो भने देखिँदैन।

पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले सडक गतिलो नहुँदा दुर्घटना बढेको बत्ताउँछन् । ‘गतिलो नहुनु र क्षमता भन्दा धेरै यात्रु बोक्नु दुर्घटनाको कारण हो ।’ उनले थपे ‘सडक  निर्माण गर्दा प्राविधिकको नाप जाँचमा नभएर डोजर अपरेटरका भरमा खनिएका छन् ।’ केसीका अनुसार सडक मर्मत नगर्नु र चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना नहुनु दुर्घटनाका कारण हुन । ‘यहाँका अधिकांश सडकमा गर्नै पर्ने वातावरणीय परीक्षण मूल्याङ्कन पनि गरिएको छैन।’

रुकुम प्रहरी प्रमुख नमराज भट्टराई पहाडको सवालमा सडकको अवस्थाले दुर्घटना बढेको बत्ताउँछन।‘साघुरोे सडक छ, सानो घुम्ती हुन्छन्।कती गाडीको यान्त्रिक अबस्था राम्रो हुदैन।’ उनले थपे ‘ईन्जीनियरको स्टीमेटमा सडक खनिदैनन्।

जसले गर्दा दुखद घटनाहरु हुने गरेको पाईन्छ।’उनले मुख्य कारण सडक गतिलो नभएकाले नै दुर्घटना बढेको दाबी गरे।उनका अनुसार यो आर्थिक बर्षमा भएका बिभिन्न ७ ठुला सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने ८ जना गम्भीर घाईते घएका छन्।रुकुममा ३आर्थिक वर्षको तथ्याङ्क अनुसार ३५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको देखिन्छ।  

प्रकाशित: ११ जेष्ठ २०८० ११:५० बिहीबार

रुकुम दुर्घटना मापदण्ड विपरीत खनिएका सडकका कारण दुर्घटना लु १ ज १७४७ नम्बरको जिप