समाज

विद्युत् प्राधिकरणका चार कर्मचारी पुर्पक्ष थुनामा

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मिलेमतोमा मिटर उल्टो घुमाएर नेपाल विद्युत् प्राधिकरणलाई नोक्सानी पुर्‍याएको भन्दै चार कर्मचारी र एक व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न देखिएको भन्दै उनीहरूलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला अदालतले प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ, मञ्जित श्रेष्ठ, भगवान पाण्डे, टहलबहादुर कार्की  र व्यापारी तपन घोषलाई मुद्दाको किनारा नभएसम्म थुनामा राख्न आदेश गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालयले विद्युत् चोरी आरोपमा प्राधिकरणका २३ कर्मचारी र व्यापारीविरुद्ध ठगी मुद्दा चलाएको थियो। उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै जिल्ला अदालतले अन्य संलग्न केहीलाई धरौटी र संलग्नता नदेखिएकालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। वकिल कार्यालयले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ असुल हुनुपर्ने र साढे सात वर्षसम्म कैद सजाय हुनुपर्ने दाबी गर्दै ठगी मुद्दा चलाएको थियो। जिल्ला अदालतले केही कर्मचारीलाई भने धरौटीमा रिहा गरेको छ। उनीहरूसँग जनही एक देखि ४ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ। अदालतले तोकेको धरौटी तिरेर उनीहरू तारेखमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयका  उपन्यायाधिवक्ता मणिराम न्यौपानेका अनुसार प्रत्यक्ष संलग्नता नदेखिएका केही मिटर रिडरलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको तथा बाँकीलाई थुनामा पठाउने आदेश भएको हो।

ओमप्रसाद ढुंगाना, श्यामकुमार बस्नेत, ठाकुर महर्जन, अच्युत खड्का, दिलबहादुर साउद, बुद्ध लामा, दिवाकर प्रधान र कुमार लामासँग एकदेखि चार लाख रुपैयाँसम्म धरौटी मगिएको  जिल्ला अदालतका कर्मचारी टीकासिंह खत्रीले बताए।

महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ, टहलबहादुर कार्की, मनिज श्रेष्ठ, भगवान पाण्डे, सूर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुंगाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सूर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलाई पक्राउ गरेको थियो। त्यस्तै व्यवसायीहरू तपन घोष, कुमार लामा, रमेश चुँडाल, बुद्धकुमार लामा, परवेज आलम र दिवाकर प्रधानलाई पक्राउ गरिएको थियो। लोडसेडिङ अन्त्य गर्न प्राधिकरणले चलाएको अभियानअन्तर्गत उनीहरू पक्राउ परेका थिए।

त्यस्तै विद्युत चोरी आरोप लागेका प्राधिकरणका कर्मचारी सुमनराज पाण्डे, महालक्ष्मी केसी, शेरबहादुर सिलवाल, दीपक अधिकारी, जितबहादुर न्यखुसी, हरिबोल ढकाल, बालकृष्ण श्रेष्ठ र टंकप्रसाद पराजुली फरार छन्। व्यवसायी कौशलादेवी राठी, हरि भट्ट, मञ्जु भट्ट, सञ्जय अग्रवाल, झइन्›प्रसाद घिमिरे, रमेशकुमार लुनिया, मुरारी थापामगर र रामकृष्ण ढुंगेल पनि फरार छन्। उनीहरूविरुद्ध पनि मुद्दा चलाइएको छ।

प्रकाशित: ५ चैत्र २०७३ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App