समाज

नवदुर्गा देवता बिरामी: हेरचाहमा आउन आह्वान

प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रपति भक्तपुरको नवदुर्गा देवगण दर्शनका लागि नवदुर्गा द्योछें (देवता घर) आउने धेरैलाई जानकारी छ। तर यसको विविध पक्षबारे धेरैलाई जानकारी नहुन सक्छ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान बनमालाका अनुसार नवदुर्गा देवताहरु पनि सम्पूर्ण प्राणीहरुको जीवनचक्र जस्तै जन्मने र मृत्यु हुने गर्दछ।

नाच देखाउँंदै देवगण।

उनका अनुसार प्रत्येक वर्ष सिथि नखा (यो वर्ष भोलि बिहीबार) बाट नवदुर्गा देवता बिरामी हुने विश्वास छ। त्यही अनुसार बिहीबार हेरचाहमा आउन सर्वसाधारणलाई आह्वान गरिन्छ, उनले भने, त्यसपछि प्रत्येक वर्ष भलभल अष्टमी (यो वर्ष जेठ २८ गते आइतबार) का दिन भक्तपुर नगर परिक्रमा गरी भनपा वडा नं. ९ स्थित ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा नवदुर्गा जले बिज्याकेगु (अग्नि समायोजन) गर्ने गरिन्छ अर्थात् मृत्यु हुने गर्दछ। उनका अनुसार यसरी यस वर्षको नवदुर्गाको जात्रा तथा नाच र जीवन समाप्त हुने गर्दछ।

भनपा ९ स्थित द्योछें अर्थात् देवता घर।

नवदुर्गा देवगण जीवित देवी हुन्। मुकुण्डो लगाएर नाचमा यी देवगणहरु सहभागी हुन्छन्। यसरी मृत्युपछि अर्को वर्षका लागि नयाँ अनुहार देवगणका रुपमा आउँछन्। भक्तपुरका नवदुर्गाका यी देवगणहरु भक्तपुरसहित काठमाडौं, ललितपुरका साथै काभ्रको साँंगा, बनेपा, धुलिखेललगायतका ठाउँ ठाउँमा पनि ङालाकेगु जात्रा (नवदुर्गा नाच) को प्रदर्शनका लागि पुग्ने गर्दछन्।

परम्परा अनुसार भक्तपुर दरबार क्षेत्र नजिक इछु टोलमा प्रत्येक वर्षको अन्तिम ङालाकेगु जात्रा (नाच) प्रदर्शन गरिन्छ। यो वर्ष जेठ २५ गते भक्तपुर दरबार क्षेत्रको मूल चोकमा सिंजा नकेगु (अन्तिम भोज) ग्रहण तथा रात्रिकालीन नवदुर्गा नाच प्रदर्शन गरिन्छ। यसपछि यो वर्षको नवदुर्गा जात्रा सम्पन्न हुन्छ।

भक्तपुर नगरपालिका वडा नं. ९, गछेँ टोलमा रहेको श्री नवदुर्गा मन्दिर भक्तपुर नगरको प्रसिद्ध मन्दिर हो। यही द्योछें (देवता) घरमा देवगणहरु बस्ने गर्दछन्। मानव समाजमा आधारित यस नवदुर्गा भवानीको प्रसिद्ध ङालाकेगु जात्रा मल्लकालीनदेखि हालसम्म निरन्तर सञ्चालनमा रहेको बताइन्छ।

हरेक वर्ष आठ महिना मकुण्डोसहितको र चार महिना मकुण्डोबिनाको जात्रा नवदुर्गा भवानीको विभिन्न तिथिमितिहरूमा विभिन्न तान्त्रिक पूजा आजासहित हुन्छ। हरेक वर्ष सिथि चःह्रे तिथि (यो वर्ष पच्छिलो बिहीबार) पश्चात् ऐतिहासिक नवदुर्गा मन्दिरभित्रको चोकमा नवदुर्गाको देवाली पूजा (स्वं छा) हुन्छ।

यस वर्ष जेठ ७ गते आइतबारको दिन उक्त पूजा गरिएको थियो। नेवार समुदायमा हरेक वर्ष परिवारको सुस्वास्थ्य, कुल शान्ति, प्रकृतिसँग सामना गर्ने आधार शक्ति प्राप्ति तथा परिवारको सुखशान्तिका लागि कुल देवतालाई पूजा गर्ने परम्परा रहेको छ। नवदुर्गा मन्दिरमा पनि हरेक वर्ष नवदुर्गाको देवाली पूजा हुने गर्दछ। नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा सुरु हुने जनविश्वास छ। देवगणहरू वर्षभरि आउने विभिन्न चुनौती तथा सामना समाधान होस्, आफूले गरेको कामको सफलता मिलोस्, दिन दशा राम्रो होस्, परिवारको सुस्वास्थ्य तथा शान्तिको कामना गरी देवाली पूजा गर्ने गर्छन्।

प्रकाशित: १० जेष्ठ २०८० १५:१९ बुधबार