समाज

गाउँमै आयो सदरमुकाम !

हलेसी तुवाचुङ नगरपालिका उदघाटन कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिर सौजन्य : टिवन राई

खोटाङ – स्थानीय तह पुःर्नसंरचना कार्यान्वयनमा आएपछि खोटाङको बाहुनीडाँडा–१ (हाल हलेसी तुवाचुङ नगरपालिका–१) का पुष्पराज राई मख्ख छन् । सदरमुकाम दिक्तेलबाट प्राप्त हुने सबै सरकारी सेवा सुविधा अव हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिमबाटै प्रबाह हुने भएपछि राई हर्षित भएका हुन् । हरेक सरकारी कामकाजका लागि एक दिनदेखि दुई दिन लगाएर सदरमुकाम दिक्तेल धाउनुपर्ने बाध्यता अन्त्या भएको राई बताउँछन् । ‘दिक्तेलबाट हुने सबै काम अब हाम्रै हलेसी तुवाचुङ नगरपालिकाबाट हुन्छ, ‘राईले भने, ‘सदरमुकाम धाए जस्तो घण्टौं समय लागेन, खर्च पनि घट्यो ।’ 
पुष्पराजको भन्दा फरक बुझाई छैन स्थानीय राजेन्द्र राईको । बाहुनीडाँडाबाट दिक्तेल पुग्न पैदल एक दिन र गाडीमा ५ देखि ६ घण्टा लाग्छ । तर, हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम पुग्न उनीहरुलाई पैदल ३ देखि ४ घण्टा र गाडीमा ४५ मिनेटदेखि बढिमा एक घण्टा मात्र लाग्छ । खर्च र समयका हिसावले समेत नगरपालिकाको कार्यान्वयन फाईदाजनक रहेको च्यास्मीटार माबिका शिक्षीका सुमित्रा राई बताउँछिन् । ‘गाउँपालिकाबाट पाइने सेवाका बिषयमा सबैमा खासै बुझाई बिकास भएको छैन,’ शिक्षिका राईले भनिन्, ‘तर, सदरमुकाम गाउँमा आयो, जिल्लाबाट हुने काम गाउँबाटै हुन्छ भन्नेमा सबैको एक मत छ ।’ 
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा संघीय संरचना कार्यान्वयनसँगै हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बुधबार दुर्छिममा स्थापना गरिएको छ । राज्यका सेवा सुविधा विकेन्द्रीकरणकाक्रममा पुरानो गाविसको कार्यालय सञ्चालन हुँदै आएको कार्यालयलाई नै नगरपालिकाको कार्यालय बनाइएको हो । यसभित्र पश्चिमी गाविस डिकुवा, बाहुनीडा“डा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी गाविसलाई समेटिएको छ । भर्खरै कार्यान्वयनमा आएको नयाँ नगरपालिका र गाउँपालिकाको काम, कर्तव्य र अधिकारको सबै बुँदाको विषयमा ज्ञान नभए पनि कम्तीमा ‘सदरमुकामबाट हुने काम गाउँबाट हुने’ अधिकांश सर्वसाधारणको बुझाई भइसकेको छ । २०२० सालमा सदरमुकामकारुपमा स्थापना भएको दिक्तेल धाउँदै आएका स्थानीयले हाल गाउँमै सदरमुकाम आएको अर्थमा बुझेका छन् र, अरुलाई पनि बुझेका कुरा भन्न थालेका छन् । नगरपालिका र गाउँपालिकाको काम, कर्तव्य र अधिकारका विषयमा अझै पनि अन्यौल छ । तर, नागरिकता, राहदानी, जग्गा पास, कृषि, नापी लगायत सम्बन्धी काम लागि सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्या भएको उनीहरुको बुझाई छ । नगरपालिकाको मापदण्ड अनुशारको बिकासको पुर्वाधार समानुपातिकरुपमा दुर्गम गाउँमा पुग्ने÷पुर्याउनका लागि पनि संघीय संरचना कार्यान्वयन महत्वपूर्ण रहेको हलेसी क्याम्पसका सहायक क्याम्पस प्रमुख तम्बरकुमार राई बताउँछन् । 
स्थानीय तहको कार्यान्वयनले सरकारी सेवामा सर्वसाधारणको सहज पहुँच मात्र स्थापित गरेको छैन, बिकास र संवृद्धिको ढोका पनि खुलेको छ । नागरिकले दिक्तेल धाएको ५३ वर्षपछि आफ्नै क्षेत्रमा सदरमुकाम आएको महसुस गरेको हलेसी तुवाचुङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत केसीराज राईले बताए । ‘स्थानीय तहको बहुत चर्चा र चहलपहल सुरु भएको छ,’ निमित्त कार्यकारी अधिकृत राईले भने, ‘जनता पनि उत्साहित छन्, उत्तिकै खुसी पनि छन् ।’ कार्यालय स्थापनापछि स्थानीय तहको निर्वाचनलाई लक्षित कामलाई प्राथमिकता दिन थालिएको उनले बताए । 
यसअघिको जिल्ला प्रशासन कार्यलयलाई भन्दा बढी अधिकार नयाँ संरचनाका गाउँपालिका/नगरपालिकालाई प्राप्त छ । स्थानीय तहलाई आफ्नै कानुनदेखि नागरिकता वितरणदेखि विद्यालय सञ्चालनसम्मका ६० भन्दा बढी अधिकार दिइएको छ । विकास, राजश्व संकलन, स्वास्थ्य, शिक्षा, उद्योग, तथ्याङ्क अद्यावधिक तथा संरक्षण, यातायात लगायतका क्षेत्रको काम गाउँपालिका÷नगरपालिका आफैले गर्न सक्ने व्यवस्था छ । प्राप्त अधिकार अनुशार नगरपालिका वा गाउँपालिकाको विकास गर्नकालागि उत्तिकै योग्य उम्मेदवारको आवश्यकता पर्ने सहायक क्याम्पस प्रमुख राईले बताए । ‘नगर वा गाउँपालिकालाई प्राप्त अधिकारलाई सही तरिकाले उपयोग गर्ने हो भने विकासको ढोकालाई क्रमशः खोल्दै अघि बढ्न सकिने वाताबरण बनेको छ,’ सहायक क्याम्पस प्रमुख राईले भने, ‘तर, निती मात्र राम्रो भएर पुग्दैन, उत्तिकै सक्षम र योग्य नेतृत्व आउनु पर्छ ।’ 
 
 

प्रकाशित: ४ चैत्र २०७३ ०५:४३ शुक्रबार

गाउँमै आयो सदरमुकाम