समाज

शरणार्थी प्रकरणमा आईजीपीलाई विवादमा ल्याउनु निन्दनीय: नेपाल प्रहरी

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई विवादमा ल्याउनु निन्दनीय भएको बताएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरी महानिरीक्षकको सचिवालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको बताएको हो।

सचिवालयले “नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण” को मुद्दाका आरोपीतहरुसँग प्रहरी महानिरीक्षक कुँवरको सम्पर्क रहेको भन्ने समाचार सम्प्रेषण प्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै कुनै आधार, तथ्य र प्रमाण बिना प्रकाशीत समाचारहरूप्रति असहमति प्रकट गरेकाे हो।

'कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ।' जारी विज्ञप्तिमा भनिएको छ।

नेपाल प्रहरीले संविधान, कानुन र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिवद्ध रहेको पनि बताएको छ।

'नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द छ। अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ। नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व भएको सञ्चारमाध्यमले अनुसन्धान जस्तो जटिल, संवेदनशिल र विशुद्ध प्राविधिक विषयका सीमितता, विशिष्टता एवं संवेदनशिलतालाई समेत मध्यनजर गरेर समाचार सम्प्रेषण गरिनुपर्ने हो। अत: कुनै तथ्य, प्रमाण बिना अनुमानका आधारमा कपोकल्पित र सतही रुपमा आएको उक्त भ्रामक र नियोजित समाचारलेप्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरी संगठनको विश्सनियता र छवीमाथि गम्भिर आँच पुगेको हुँदा नेपाल प्रहरी उक्त समाचारको खण्डन गर्दछ।'

प्रकाशित: १० जेष्ठ २०८० १२:२३ बुधबार

बसन्त बहादुर कुँवर