समाज

हिल्सा र लिमीमा प्रहरी चौकी पुनस्थापना

अत्याधिक चिसोका कारण मंसिरमा सदरमुकाम सिमकोट सारिएका हिमाली जिल्ला हुम्लाको उत्तरतर्फका दुई प्रहरी चौकी छ महिनापछि पुनस्थापना भएका छन्। चीनसँगको सिमा क्षेत्रका हिल्सा र लिमी सिमा प्रहरी चौकीका लागि सदरमुकाम सिमकोटबाट प्रहरी टोली पठाइएको छ। उनीहरु बुधबारसम्म तोकिएको प्रहरी चौकीमा पुग्नेछन्।

चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका–५ को हिल्सा र सोही पालिकाको वडा नं–६ लिमीको सुनखानी प्रहरी चौकीका लागि सदरमुकामबाट प्रहरी टोली पठाइएको हुम्लाका प्रहरी प्रमुख भीमलाल भट्टराईले जानकारी दिए। ‘बुधबारबाट सिमा क्षेत्रका दुई वटै प्रहरी चौकीहरु सञ्चालनमा आउँछन्,’उनले भने, ‘आइतबार दुबै चौकीका लागि आवश्यक जनशक्ति सदरमुकामबाट हिँडिसकेको छ।’ उनले सदरमुकामबाट पठाइएको प्रहरी टोलीलाई चार दिनको बाटाको म्याद दिइएको बताए।

हिउँदमा चीनसँगका नाका पूर्णरुपमा बन्द रहन्छन्। सिमामा खटिने प्रहरीका लागि रासन–पानीको पनि समस्या हुन्छ। पूरै हिउँ जम्ने भएकाले नेपालतर्फका सुरक्षाकर्मीहरुलाई सिमा सुरक्षाका लागि बस्न कठिन हुन्छ। त्यसैले मंसिर पहिलो सातामै सिमामा रहेका दुई प्रहरी चौकीको जनशक्तिलाई सदरमुकाममा ल्याउने गरिएको हुन्छ। हिल्सामा १३ र सुनखानीमा ११ जना प्रहरी पठाइएको हुम्लाका प्रहरी प्रमुख भट्टराईले जानकारी दिए।  

 

प्रकाशित: ९ जेष्ठ २०८० ०५:४५ मंगलबार

हिल्सा र लिमीमा प्रहरी चौकी पुनस्थापना