समाज

बञ्चरो प्रहार गरी बुबाको हत्या

बाजुरा- बञ्चरो प्रहार गरी गुदुखातीमा छोराले बुबाको हत्या गरेका छन्। आइतर बिहान खाना खानेबेला भएको विवाद पछि गुदुखाती ४ का लोकेश चदाराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका हुन्।

                विहान ९: ३० बजेतिर खाना खाँदै गर्दा भएको विवादपछि २२ वर्षका लोकेश चदाराले ६० वर्षका वृद्ध बुबा नाथ चदाराको हत्या गरेको प्रहरी निरीक्षक सुदाम रावलले बताए। सुरुमा कोदालीले टाउकोमा हिर्काएको र पछि बञ्चरोले घाँटीमा प्रहार गरेको प्रहरीको भनाई छ।

                बञ्चरो प्रहार पछि टाउको र शरिर अलग भएको थियो। लगत्तै डोकामा राखेर खोलामा फाल्न जान्छु भन्दै, तयारी गरेको स्थानीयले थाह पाएपछि प्रहरीलाई खबर भएको सूचना अधिकारी समेत रहेका रावलले बताए।

                हत्या गरेको लोकेशले स्वीकार गरिसकेका छन्। सुरुमा मानसिक सन्तुलन ठिक नभएको बताए पनि मेडिकल रिपोर्ट अवस्था सामान्य नै रहेको भेटिएको छ। हत्यामा संलग्न लोकेश चदारालाई प्रहरीले आइतबार राती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ।

                घटना स्थल मार्तडीबाट एक दिनको पैदल दुरीमा पर्छ । हत्याको कारण बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। लोकेश चदारा विरुद्ध सोमबार नै अदालतमा कर्तव्य ज्यान अन्तर्गतको जाहेरी दर्ता गर्ने तयारी प्रहरीले गरेको छ। शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

               

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०५:३० सोमबार

बञ्चरो प्रहार गरी बुबाको हत्या