काठमाडौं-तेस्रो आँखा (थर्ड आइ) युवा क्लबको आयोजनामा सञ्चालित बानेश्वर सरसफाइ अभियानको १०० औँ हप्ताको कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले युवाले क्लबले गरेको यस्तो कार्यक्रम १०० औँ हप्तामा पुग्नु प्रशंसनीय भएको बताउँदै सम्पूर्ण काठमाडौँलाई नै सफा बनाउने अभियानमा आफू पनि लाग्ने बताए।
उनले सफाइ अभियानमा स्थानीयवासी एवम् सांसद मोहनकुमार राई तथा तेस्रो आँखा युथ क्लबका अध्यक्ष सुवास राईको सक्रियताको प्रशंसा गरे।
कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरसफाइ अभियान १०० औँ हस्तामा पुग्नु नै स्वागतयोग्य भएको बताए।
सफाई कार्यक्रम बानेश्वर, शंखमूल र बुद्धनगर गरी तीन ठाउँबाट सुरु भएको थियो। उक्त ठाउँमध्ये एउटामा नेता सिंह, अर्कोमा नेता जोशी र अर्कोमा स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेतृत्व गरेका थिए। कार्यक्रममा सांसद राधेश्याम अधिकारीसमेत सहभागी थिए। रासस
प्रकाशित: २९ फाल्गुन २०७३ ०८:०७ आइतबार