समाज

बर्डफ्लु पत्ता लगाउन नमुना संकलन

इटहरी– सुनसरी इटहरी वडा नं. १२ को पाथीभरा पोल्टी फर्ममा पालिएको कुखुरामा नयाँ प्रकारको बर्डफ्लुको संक्रमण भेटिएपछि आसपासका क्षेत्रमा नमुना संकलन थालिएको छ  । 

नेपालमै पहिलोपटक इटहरीकै सञ्जय गौतम र भोला अधिकारीले सञ्चालन गरेको फर्ममा पालेका लेयर्स जातका कुखुरामा नयाँ प्रकारको बर्डफ्लुको संक्रमण भेटिएपछि आसपासका क्षेत्रमा नमूना संकलन थालिएको हो । पाथीभरा पोल्टी फर्म आसपासको दस किलोमिटर क्षेत्रमा नमूना संकलन थालिएको पूर्वाञ्चल क्षेत्रीय भेटनरी प्रयोगशालका डा. सन्जयकुमार यादवले बताए । उनले अहिलेसम्म २० वटा नमूना परीक्षण गर्दा बर्डफ्लुको नभएको पत्ता लागेको छ । 

‘नमुना संकलन गर्नका लागि दुई जनालाई खटाइएको छ,’ उनले भने, ‘अझै एक सातासम्म इटहरी वडा नं. १२ को दस किलोमिटर आसपासका क्षेत्रमा नमूना संकलन गर्न सर्भेलेन्स टोली परिचालन गरिनेछ ।’
गौतम र अधिकारीले पालेको कुखुरामा नयाँ प्रकारको ‘एच फाइप एन एट’ नामक संक्रमण भेटिएपछि क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला विराटनगर, जिल्ला कृषि पशु सेवा कार्यालय र जिल्ला जनस्वाथ्य कार्यालय इनरुवाको टोलीले शुक्रबार राति अबेरसम्ममा दुई हजार पाँच सय ५० वटा कुखुरा नष्ट गर्यो । पाथीभरा पोल्टी फर्ममा बर्डफ्लु रोग नियन्त्रण टोलीले कुखुरा नष्ट गर्नुअघि अन्डा दिने तीन हजार पाँच सय कुखुरा मरीसकेका थिए । 

पाथीभरा पोल्टी फर्ममा फागुन ९ गते तीनवटा कुखुरा मरेपछि पशु सेवा कार्यायले नमुना लिएर क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला र केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला परीक्षण गरेपछि विहीबार मात्र बर्डफ्लुको पुष्टी भएपछि संक्रमति कुखुरा नष्ट गरिएको हो । पाथीभरा पोल्टी फर्ममा बर्डफ्लु भएको पत्ता लागेसँगै त्यस वस्तीका २६ वटा लोकल कुखुरा पनि नष्ट गरिएको जानकारी दिइयो । 

प्राविधिक टोलीले पाथीभरा पोल्टी फर्मममा शनिबार खोर सफाईको काम गरेको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनारायण महत्तोले बताए । उनका अनुसार, शनिबार नै इटहरी वडा नं. १२ का विभिन्न पसलमा राखिएका अण्डा समेत खोजी गरि नष्ट गरियो । 

पाथीभरा पोल्टी फर्ममा पाँच वर्षअघि कुखुरामा बर्डफ्लु भेटिएर नष्ट गरिएको थियो । पछिल्लो समय त्यही फर्ममा डेढ बर्षदेखि लेयर्स जातका कुखुरा पालिएका थिए । 

 

प्रकाशित: २८ फाल्गुन २०७३ १३:३६ शनिबार

बर्डफ्लु पत्ता लगाउन नमुना संकलन