समाज

अवैध रूपमा रुख काटेको आरोपमा अध्यक्ष पक्राउ

फाइल तस्बिर

वन कार्यालयबाट अनुमति नलिई सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्। समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।  

कटान, छपान र निकासीको आदेश नलिएको तथा वार्षिक कार्ययोजनासमेत नभएको अवस्थामा धमाधम रुख काटेको स्थानीयले भेटेर उजुरी दिएपछि अध्यक्ष घिमिरेलाई त्रफाउ गरी कारबाही सुरु गरिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जनाएको छ। डिभिजन वन अधिकृत (डिएफओ) अनिरुद्ध साहले वैशाख तेस्रो सातातिर उजुरी परेपछि वन कर्मचारी टोली परिचालन गरी घट्नास्थलको अनुगमन गर्दा रुख काटेको ठहरिए अनुसार अध्यक्षलाई पक्राउ गर्नुपरेको उनले बताए। साहका अनुसार प्रारम्भिक बयान र स्थानीयको भनाइअनुसार वैशाख सुरुदेखि नै रुख ढाल्ने काम सुरु भएको खुलेको छ।  

१५ दिनअघि नै काट्न सुरु भएकाले ४८ वटा ढालिसकेपछि मात्र खबर आएको डिभिजनले जनाएको छ। उपभोक्तालाई दिने भन्दै उनीहरूलाई नै परिचालन गरी रुख ढाल्ने काम भएको उनले बताए। ‘अध्यक्ष आफैंले कटान आदेश लिइसकेको भनेर उपभोक्तालाई वितरण गर्ने भन्दै रुख काट्न लगाएको सुरुवाती अनुसन्धानले देखाएको छ,’डिएफओ साहले भने, ‘विस्तृत कुरा थप अनुसन्धानपछि मात्र खुल्दै जाला। अहिलेलाई डिभिजनको आदेश नलिई अवैध रूपमा रुख काटेको पाइएकाले पक्राउ गरी कारबाही सुरु भएको छ।’

घटनाबारे विस्तृत कुरा पत्ता लगाउन डिभिजनकै सहायक वन अधिकृत अमरेन्द्र यादवलाई अनुसन्धान अधिकृत तोकेर छानविन कार्य सुरु भएको छ। वैशाख ३१ गते पक्राउ घिमिरेलाई बिहीबार मात्र जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भएको यादवले बताएका छन्। उनका अनुसार समूहको विभिन्न क्षेत्रबाट ४८ वटा सालका रुख काटिएका छन्। जसमध्ये २ वटा ढलापडा र बाँकी सुख्खा खडा रुख रहेका छन्। ढालिएका रुखलाई टु्ना बनाएर २ सय ६५ वटा गोलियामा परिणत गरिएको छ भने केही गोलिया चिरान गरेको पाइएको छ। यादवले ३५ थान चिरान बटम (कडी) पनि उपभोक्ताको घरबाट बरामद भएको बताए। जम्मा काठको परिमाण ३ हजार ९ सय ९१ क्युबिक फिट रहेको छ। जसको सरकारी मूल्यांकनअनुसार २७ लाख ९३ हजार ७ सय हुन आउने यादवले बताए।  

वैशाख अन्तिमतिर टुना गोलिया काठ ट्याक्टरमा राखेर अज्ञातस्थलतर्फ लाँदै गरेको पाएपछि स्थानीयले कब्जा गरी डिभिजनमा बुझाउँदै सोधखोज थालेका थिए। 

प्रकाशित: ६ जेष्ठ २०८० ०१:५४ शनिबार

अवैध रूपमा रुख काटेको आरोपमा अध्यक्ष पक्राउ