समाज

जिल्ला अस्पताल अझै टेन्टमा

सिन्धुपाल्चोक- बिनासकारी भूकम्पको २२ महिना बितिसक्दा सिन्धुपाल्चोकको एक मात्र ठूलो जिल्ला अस्पताल भने अझै टेन्टमा सञ्चालित छ।

 क्षतिग्रस्त भव्य भवन छलेर खाली जमिनमा गाडिएका टेन्टभित्र सबैखाले बिरामीको उपचार हुन्छ। टेन्टभित्रै बिरामी शैया छन्। बालबालिका, महिला, पुरुष र बृद्धबृद्धालाई त्यहाँ भर्ना लिइन्छ। र, एकै ठाउँमा राखेर उपचार गरिन्छ। 'हामी टेन्टभित्रै चिरफार गर्छौँ,' अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्रकुमार चौरसिया भन्छन्, 'सुत्केरी पनि यहीँ गराउँछौँ।'

ठिहीमा टेन्टभित्र शीतले भिझ्ने बिरामी हिउँदमा पसिनाले रुझ्छन्। सबैखाले बिरामी एकै ठाउँमा राखेर उपचार गर्नु पर्दा संक्रमण हुनबाट जोगाउन हम्मे परेको  छ।

गएको वर्ष वैशाख १२ को भूकम्पपछि जिल्ला अस्पताल टेन्टमा सञ्चालन हुँदै आएको छ। भूकम्पको दुई वर्ष बित्न लाग्दा टेन्ट हटेको छैन। घामपानी, बर्खे भलबाढी, हिउँदे जाडो र हावाहुरी सहँदै स्वास्थ्यकर्मी उपचारमा तल्लीन रहँदै आएका छन्। ठिहीमा टेन्टभित्र शीतले भिझ्ने बिरामी हिउँदमा पसिनाले रुझ्छन्। अहिले हावाहुरीको सिजन छ।  'टेन्ट नै उडाउला जसरी हुरी चल्छ,' जिल्ला स्वास्थ्य प्रमुख रहेका डा. चौरसिया सुनाउँछन्, 'बिरामी त्रासै त्रासमा उपचार गराउन बाध्य छन्।'

 अस्पतालका अनुसार उपचार गराउन दैनिक १ सय ४० जति बिरामी आउँछन्। आकस्मिक सेवामा आउने ८–१० जना बिरामी गम्भिर प्रकृतिका हुन्छन्। दैनिक ६–८ बिरामी भर्ना हुन्छन्। 'जटिल बिरामी तुरुन्तै रेफर गर्छौँ। साँघुरो टेन्टभित्र सबै सेवा उपलब्ध गराउन असमर्थ छौँ,' उनले भने। ठाउँ अभावमा सबैखाले मेसिनरी उपकरण सञ्चालनमा छैनन्। दिसा, पिसाव, खकार, रगत परीक्षण र सामान्य एक्सरेसम्म हुन्छ। भूकम्पपछि ठूलो एक्सरे मेसिन थन्किएको छ।

 ६ वटा टेन्टबाट अस्पतालले उपचार दिइरहेको छ। घामपानी छल्न टेन्टलाई त्रिपाल ओढाइएको छ। टेन्टभित्र ३० बेडको व्यवस्था छ। बिरामीको रोगको प्रकृति छुट्याएर छुट्टै उपचारको व्यवस्था छैन। सबैखाले बिरामी एकै ठाउँमा राखेर उपचार गर्नु पर्दा संक्रमण हुनबाट जोगाउन हम्मे परेको डा. चौरसिया बताउँछन्। 'सरसफाई कायम गर्न चुनौती छ,' उनले भने।

 भूकम्पपछि जिल्ला अस्पतालले टुँडिखेलको खुला चौरबाट बिरामीलाई सेवा दियो। नर्वेजियन रेडक्रसको चिकित्सक टोलीले टुँडिखेलमा गाडेको टेन्टबाट संयूक्त रुपमा साढे दुई महिना अस्पतालले बिरामीको उपचार गर्‍यो। नर्वेजियन टोली हिँडेपछि असार ३० देखि भूकम्पबाट क्षतिग्रस्त अस्पतालको खाली प्रांगणमा टेन्ट गाडेर अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पताल चलाउन विश्व स्वास्थ्य संगठनले टेन्ट उपलब्ध गराएको थियो।

 भूकम्पबाट जोगिएका भवनबाट परिवार नियोजन, खोप, मातृशिशु, अल्ट्रा साउन्ड र ल्याव सेवा दिँइदै आएको छ। ती संरचना सामान्य मर्मत गर्नुपर्ने अवस्थाका भए पनि गरिएको छैन। जिल्ला अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्रवाह गराउन हरसम्भव प्रयास गरे पनि नसकेको प्रमुख डा. चौरसियाले बताए। उनका अनुसार भूकम्पपछि बन्द टेलिमेसिन सेवा अझै सुरु गर्न सकिएको छैन।

 दुई हिउँद र दुई बर्खा टेन्टमा गुजारिसकेका स्वास्थ्यकर्मी अब पनि यसैगरी उपचार सेवा दिन सम्भव नरहेको निष्कर्षमा पुगेका छन्। अस्पतालले दिने सबैखाले सेवालाई 'सेमीपर्मानेन्ट' संरचनामा लैजान खोजिएको डा. चौरसियाले बताए। त्यसका लागि जस्ता र 'प्रिफ्याव' को संरचना बनाउन थालिएको छ।

भवन बनाउन चीनको चासो

 भूकम्पले क्षतिग्रस्त जिल्ला अस्पताल भवन बनाउन चीन सरकारले चासो दिएको छ। चीनबाट आएको प्राविधिक टोली केही साताअघि मात्र क्षतिग्रस्त भवन र नयाँ बन्ने संरचनाको प्रारम्भिक अध्ययन गरेर फर्केको छ। क्षतिग्रस्त भवन भत्काएर नयाँ बनाइदिन चीन सरकारले चासो दिएको अस्पताल जिल्ला स्वास्थ्य प्रमुख डा. चौरसियाले बताए। 'अस्पताल जस्तो सम्वेदनशील निकाय भएकाले प्राविधिक टोलीले क्षतिग्रस्त भवन मर्मतको सट्टा भत्काउनै सुझाएको छ,' उनले भने।

 उनका अनुसार प्राविधिक टोलीले चीन सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएपछि भवन डिजाइन र सम्झौता प्रक्रिया अघि बढ्ने छ। २०६३ वैशाख १० गते तत्कालीन बिद्रोहीले सदरमुकाम चौतारा आक्रमण गर्दा जिल्ला अस्पताल ध्वस्त भएको थियो। आक्रमणपछि अस्पतालले खुला चौरमा लामो समय बिरामीलाई उपचार सेवा दिएको थियो।

 शान्ति प्रक्रियापछि निर्माण थालिएको अत्याधुनिक अस्पताल भवनले चार वर्षअघि मात्र पूर्णता पाएको थियो। करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको भवन हस्तान्तरण गरिएको दुई वर्ष नबित्दै भूकम्पले नराम्ररी क्षति पुर्‍यायो। अत्याधुनिक भव्य तीन भवनमध्ये पहिलो दबिएको छ। दोस्रो र तेस्रो भवनको पाँचवटाभन्दा बढी पिलरमा क्षति पुगेको छ भने सबै भवनको गाह्रो चर्किएको छ। जीर्ण भवनकै वरिपरी टेन्टमा अस्पताल सञ्चालित छ।  'पक्की भवनबाट उपचार सेवा दिन अझै केही वर्ष लाग्ने देखियो,' डा. चौरसियाले भने।

प्रकाशित: २६ फाल्गुन २०७३ ०६:५७ बिहीबार

जिल्ला अस्पताल टेन्टमा