समाज

सप्तरी घटनाविरुद्ध घोषित मधेश बन्दले जनकपुरको जनजीवन प्रभावित

जनकपुर– सप्तरी घटनाविरुद्ध बुधबार दोस्रो दिन पनि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेशका जिल्लाहरु पूर्ण रुपले बन्द छ। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। 

जनकपुरमा मोर्चाका कार्यकर्ताहरुले आधा दर्जन टोली बनाएर बन्द गराउन खटिएका छन् । ‘बुधबार दिनभर बन्दको प्रभाव नघटोस् भनेर विभिन्न टोली बनाएर नगरको सबैतिर परिचालन गरेका छौं,’ सद्भावना पार्टीका धनुषा अध्यक्ष सञ्जय सिंहले भने। 

बन्दले जनकपुरलगायत जिल्लाका ग्रामीण भेगमा समेत बजार र यातायात पूर्ण रुपले ठप्प छ । विद्यालय, व्यापारिक प्रतिष्ठानदेखि छोटो तथा लामो दूरीका सबै यातायातका साधन बन्द रहेको प्रहरीले जनाएको छ । मंगलबारसम्म बन्दको समान्य प्रभाव नपरेको महोत्तरीको बर्दिबास बजार पनि बुधबार बन्द छ। शरदसिंह भण्डारी नेतृत्वको रामसपा कार्यकर्ताहरुले जुलुस निकालेर बर्दिवास बजार बन्द गराएका हुन् । उनीहरुको विरोधपछि काठमाडौंबाट बनेपा–सिन्धुलीहुँदै तराई झर्ने यातायातका साधन बर्दिवास नपुगेर गौरीडाँडामै रोकिएको प्रहरीले जनाएको छ ।  

एमालेको पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार जनकपुरमा सभा आयोजना गर्ने तालिका थियो। सोही सभा विथोल्न मोर्चाले एक हप्ता अगावै धनुषा बन्दको आह्वान गरेको थियो। सोमबार सप्तरी घटना भएपछि तत्काल त्यसको विरोधमा मंगलबार पनि बन्द गराइएको हो। 

बुधबार कुनै अप्रिय घटना नभए बिहीबारबाट बन्द फिर्ता लिने उनले जानकारी दिए । 
जनकपुरमा मंगलबार दिनभर शान्तिपूर्ण प्रदर्शन भएको थियो। साँझ एक समूहले जनकपुरको पिराडी चोकस्थित मिथिला पर्यटन प्रबद्र्धन विकास समितिको कार्यालयमा आगजनी गरेको थियो। उक्त घटनामा आफ्नो कार्यकर्ताको संलग्न नरहेको जिल्ला मोर्चाको दाबी छ । 

प्रत्यक्षदर्शीका अनुसार चारपाँचजनाको संख्यामा आएको एक समूहले सिसाको बोतलमा भरेको पेट्रोल फालेर कार्यालयमा आगजनी गरिएको थियो । आगजनीले कार्यालयको फर्निचर र केही कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: २५ फाल्गुन २०७३ ०८:१९ बुधबार

सप्तरी घटनाविरुद्ध मधेश बन्दले जनकपुरको जनजीवन प्रभावित