नवलपरासी-उद्योगपति विनोद चौधरीको व्यावसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नवलपरासीको देवचुली–२ दुम्कौलीमा निर्माण गरेको शाश्वत धामको सोमबार सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र सहभागी भए। सो अवसरमा आयोजित धार्मिक सभामा हिन्दुमात्रै नभएर अन्य धर्मका गुरुहरु पनि सहभागी थिए।
राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र फरकफरक समयमा कार्यक्रमस्थलमा पुगेका थिए । शाश्वत धाम राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी थिइन् । राष्ट्रपति भण्डारी कार्यक्रम सकेर हेलिकप्टरबाट कपिलवस्तुका लागि उडेपछि मात्रै पूर्वराजा ज्ञानेन्द्र कार्यक्रमस्थल आएका थिए । धामको औपचारिक उद्घाटनपछि आयोजित धर्मसभामा पूर्वराजा ज्ञानेन्द्र प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले धार्मिक सहिष्णुता र जातीय सद्भावको अनुपम उदाहरण पेस गरेको देशको सांस्कृतिक विविधता मानव जातिको वैभवका रुपमा रहेको बताइन् । असल परम्परा र मूल्य मान्यताप्रति गर्व गर्नुपर्ने तर सभ्य समाजका लागि अस्वीकार्य हुने मान्यतालाई जुनसुकै आवरणमा आए पनि त्याग्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
दुम्कौलीको सिजी इन्डस्ट्रियल पार्क परिसरभित्र करिब सात बिघा जमिनमा शाश्वत धाम निर्माण भएको छ। उद्घाटन समारोहमा आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक श्री श्री रवि शंकरजी पनि सहभागी थिए। काञ्ची कामाकोठी पीठका शंकराचार्य जगद्गुरु जयेन्द्र सरस्वतीजी सहभागी हुने भने पनि कारणवस उनी आएनन् । उनले इन्टरनेटमा आधारित भिडियो कल प्रविधि स्काइपमार्फत सभामा मन्तव्य राखेका थिए ।
धर्मसभामा हिन्दुका साथै अन्य धर्मका गुरुहरु अल इन्डिया इमाम संघका प्रमुख डा. इमाम उमर इल्यासी, मानवता र विकासका लागि चर्चहरुको अन्तर्राष्ट्रिय संस्था केरिटास इन्टरनेसनलका नेपाल निर्देशक फादर पियुस पेरुमना, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु सिद्धार्थ, महाबोधी अन्तर्राष्ट्रिय ध्यान केन्द्रका निर्देशक भिक्षु संघसेना सहभागी थिए । ब्रह्मकुमारी राज दिदी लगायत पनि उपस्थित थिए ।
धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर छ । मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्रि, केदार, हरिद्वार, मुक्तिनाथ र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । उद्घाटनसँगै धाम सर्वसाधारणका लागि खुला गरिएको छ ।
धामभित्र गुरुकूल विद्याश्रम, अखण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल छन् । त्यस्तै गौशाला, प्रांगारिक कृषि फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, प्रांगारिक शाकाहारी भोजनालय, विश्रामस्थल लगायत हिन्दु धर्मसँग सम्बन्धित अन्य महŒवपूर्ण स्थल छन् ।
शाश्वत धाममा अडियो–भिडियो केन्द्र पनि छ । यस केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्रि, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्ने छन् ।
नेपालका विभिन्न धार्मिक तीर्थस्थलको पनि प्रचारप्रसार यहाँबाट गरिने व्यवस्था मिलाइएको छ । शाश्वत धामभित्र रहेको धार्मिक सूचना केन्द्रबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइने छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर छ जहाँ आगन्तुकले वैदिक सनातन धर्मको प्रतिनिधित्व गर्ने विविध सामग्री खरिद गर्न सक्ने छन् ।
धाममा वर, पिपल, अशोका लगायत १२ राशि २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख बिरुवा लगाइएका छन् । धामलाई आकर्षक बनाउन मन्दिर वरपर मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) निर्माण गरिएको छ । आगन्तुकको सुविधाको लागि बिश्राम स्थल पनि बनाइएको छ ।
प्रकाशित: २५ फाल्गुन २०७३ ०५:०५ बुधबार