समाज

वीरगन्जमा बन्दको प्रभावः यातायात ठप्प, यात्रुलार्इ समस्या

वीरगन्ज– सप्तरीमा प्रहरीको गोली लागि आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा मधेशी मोर्चाले आह्वान गरेको २ दिने तराई बन्दले मंगलबार पर्साको जनजीवन कष्टकर बनेको छ। बजार, शैक्षिक तथा वित्तीयय संस्थाहरु, ब्यापारीक प्रतिष्ठान र कलकारखानासँगै लामो तथा छोटो दूरीका यातायात ठप्प रहे। 

यातायार ठप्प हुँदा मानिसहरुले कष्ट खप्नु परेको थियो। वीरगन्ज–पथलैया सडकखण्डमा दिनभरी घाममा यात्रुहरु पैदल हिँड्न बाध्य भए । मंगलबार बिहानैदेखि वीरगन्जमा मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए। 

दिउँसो बन्दकर्ताले कडाइ गरे पनि साँझ साना सवारी साधन सञ्चालनमा अवरोध नगरेका कारण बजारमा भने मानिसहरुको आवागाम देखिएको थियो। आपेक्षाकृत रुपमा बन्द शान्तिपूर्ण रह्यो।  

‘संविधान संसोधनको विषय ओझेलमा पारी, मोर्चाको सहमति बिना चुनावको मिति घोषणा गरेर मधेशसँग गद्दारी गरेका माओवादी र काँग्रेसले मधेसीलाई गोली हान्ने सवालमा एमालेसंग मिलका छन्,’ संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘आन्दोलनमार्फत यसको जवाफ दिन हामी बाध्य छौं।’ 

उनले एमालेलाई प्रमुख मधेश बिरोधी बताउँदै उसको मधेश केन्दित कार्यक्रम सफल हुन नदिने दावी गरे। साँझ मोर्चाका कार्यकर्ताहरु वीरगन्जबाट निस्किने सडकखण्डमा प्रदर्शन केन्द्रीत गर्दै सुरक्षा घेरामा हुन सक्ने मालवाहक सवारी साधन सञ्चालन रोकेका थिए । 

मंगलबार वीरगन्जको घण्टाघर चोकमा मधेसी मोर्चाका कार्यकर्ताले बार लगाई गरेको अवरोध । मंगलवार बन्दका कारण वीरगन्ज पथलैपा सडकखण्डमा पैदल हिँड्दै गरेका यात्रु। तस्बिरः रितेश त्रिपाठी

 

प्रकाशित: २४ फाल्गुन २०७३ १३:५८ मंगलबार

वीरगन्जमा बन्दको प्रभावः यातायात ठप्प यात्रुलार्इ समस्या