समाज

लियोजन अफिसर सधैं पहुँचवाला

फाइल तस्वीर

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चयन गर्न सधैं पहुँचवाला कर्मचारीहरूको हालीमुहाली हुने गर्छ। पर्यटन मन्त्रीका निजी सचिव, विभिन्न पार्टीनिकट कर्मचारी संघ, संगठनका पदाधिकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारीहरू दोह¥याएर, तेह¥याएर लियोजन अफिसर भइ हिमाल आरोहणमा जाने गर्छन। तर पहुच नभएका कर्मचारीहरू भने लियोजन अफिसरको लागि तालिम गरेको ५÷६ वर्ष पुग्दा पनि अवसर पाउँदैनन्।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका निजी सचिव डिजन भट्टराई, माओवादीनिकट कर्मचारी संगठन राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, विभिन्न पार्टीनिकट कर्मचारी संघ, संगठनका पदाधिकारीहरू लियोजन अफिसर भई आरोहणमा गएका छन्। नेकपा (एस)सँग निकट कर्मचारी कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरे पनि अहिले आरोहणमा गएका छन्।

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चयन गर्न सधैं पहुँचवाला कर्मचारीहरूको हालीमुहाली हुने गर्छ।

मन्त्रीका निजी सचिव भट्टराईले आफू मन्त्रीको पिएको हैसियतबाट नभई पर्यटन मन्त्रालयका कार्यरत कर्मचारीको हैसियतबाट हिमाल आरोहणमा गएको बताए। लियोजन अफिसर चयन गर्न पर्यटन विभागले कार्यविधि बनाएको छ। पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कार्यविधि अनुसार नै लियोजन अफिसर चयन गर्ने गरेको बताए। तर सहरी विकास मन्त्रालयमा कार्यरत एक सुब्बाले भने, ‘मैले लियोजन अफिसरका लागि तालिम लिएको ५ वर्ष पूरा भइसक्यो। मैले एकपटक पनि अवसर पाएको छैन। तर कर्मचारी नेताहरू भने वर्षै पिच्छे लियोजन अफिसर भई आरोहणमा जाने गर्छन्।’ कार्यविधिअनुसार नायब सुब्बादेखि उपसचिवसरहका कर्मचारी लियोजन अफिसर भई आरोहणमा जाने व्यवस्था छ।

सम्पर्क अधिकृत भई हिमाल आरोहणमा जाँदा आरोहण दलबाट एकपटकमा ३ हजार अमेरिकी डलर (झन्डै साढे तीन लाख) भन्दा माथि सुविधा पाउने व्यवस्था छ। यसबाहेक दैनिक ५ सय रूपैयाँ भत्ताको पनि व्यवस्था छ। यही कारण पनि लियोजन अफिसर चयन गर्न पहुँचवालाको हालमुहाली हुने गर्छ। ६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारीका रूपमा जानुपर्ने कानुनी व्यवस्था छ।

हिमाल आरोहणका क्रममा सम्पर्क अधिकारी बिरामी भए या लेक लाग्यो भने बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यही व्यवस्थालाई दुरूपयोग गर्दै हिमाल आरोहरणमा जाने केही लियोजन अफिसर हिमाल आरोहणका क्रममा एक/दुई दिन मात्र बस्छन्, ‘बिरामी भएँ’ भन्दै बीच बाटोबाटै फर्कन्छन्। तर पनि उनीहरूको तोकिएको सुविधा कट्टा हुँदैन।

विभागका निर्देशक खतिवडाका अनुसार लियोजन अफिसर बाटोमै विरामी भएर फर्के भने लियोजन अफिसरले गर्ने काम बेस क्यम्पमा स्थापना गरिएको सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरूले गर्ने व्यवबस्था कार्यविधिमा गरिएको छ। सम्पर्क कार्यालयमा एकजना उपसचिवको नेतृत्वमा कर्मचारी राख्ने गरिएको खतिवडाले बताए।

सम्पर्क अधिकृत भई हिमाल आरोहणमा जाँदा आरोहण दलबाट एकपटकमा ३ हजार अमेरिकी डलर (झन्डै साढे तीन लाख) भन्दा माथि सुविधा पाउने व्यवस्था छ।

पर्यटन मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘एकातिर एक÷दुई दिन हिमाल आरोहणको रोमाञ्चाक यात्राको अवसर पनि पाइने, अर्कोतिर तीनदेखि साढे तीन लाख रूपैयाँ पाउने भएपछि निजामती कर्मचारीहरूका लागि लियोजन अफिसर हुन हरेक वर्ष होडबाजी नै हुने गर्छ। यसको फाइदा कर्मचारी नेताहरूले लिने गर्छन्।’

२०६७ सालदेखि राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिसमा लियोजन अफिसर पठाउने व्यवस्था गरिएको छ। आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूले पनि यसको फाइदा उठाउने गर्छन्। पर्यटन विभागले हरेक वर्ष लियोजन अफिसरको नाम पठाउन सबै मन्त्रालयसँग सिफारिस माग्छ। तर चयन गर्दा पनि पहुँचवालाकै हालीमुहाली हुने गर्छ।

लियोजन अफिसर छनोट गर्न सबै अधिकार पर्यटन विभागलाई हुन्छ। विभागका उच्च कर्मचारीहरूले सकेसम्म आफूनिकट कर्मचारीको नाम सिफारिस गर्ने गर्छन्। लियोजन अफिसरले हिमाल आरोहणका लागि आठदिने तालिम लिनुपर्ने र डाक्टरबाट स्वस्थता प्रमाणित गर्नुपर्ने व्यवस्था छ। यसमा उमेरको हदबन्दी भने राखिएको छैन।

२०६७ सालदेखि राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिसमा लियोजन अफिसर पठाउने व्यवस्था गरिएको छ।

हिमाल आरोहण गर्ने समूहले आरोहण गरेको/नगरेको प्रमाणित गर्ने अधिकार लियोजन अफिसरलाई हुन्छ। लियोजन अफिसरले हिमाल आरोहण गरेको प्रमाणित गरेपछि मात्र त्यो समूहले हिमाल आरोहण गरेको कानुनी पुष्टि हुन्छ।

जसले हिमाल आरोहण गरेको भने प्रमाणित गर्छ, ऊ आफैंले भने हिमाल आरोहण गर्दैन। वर्षमा दुई याम हिमाल आरोहण गर्ने गरिन्छ। चैत, वैशाख, जेठमा वसन्त आरोहण (स्प्रिङ सिजन) र असोज-कात्तिकमा शरद आरोहण (अटुमन सिजन) सुरु हुने गर्छ। अहिले वसन्तकालिन आरोहणको मौसम सुरु भएको छ।

यस मौसममा पर्यटन विभागले १ हजार ७९ आरोहीलाई विभिन्न २७ वटा हिमाल आरोहण गर्न अनुमति दिएको छ। वसन्त ऋतुमा सगरमाथा, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण लगायत हिमालमा आरोहण हुन्छ भने शरद ऋतुमा मनास्लुलगायत हिमाल पर्छन्। एउटा समूहले हिमाल आरोणका लागि २० देखि ७५ दिनसम्म लगाउने गर्छन्। तर लियोजन अफिसर भने त्यति दिन बस्दैनन्।

प्रकाशित: ५ जेष्ठ २०८० ०१:०९ शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग लियोजन अफिसर (सम्पर्क अधिकृत) चयन पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती हिमाल आरोहण