समाज

मल तस्करी प्रकरणमा प्रहरीको दोहोरो भूमिका

फाइल तस्बिर।

रौतहटमा प्रहरी दोहोरो भूमिकामा देखिएको छ। पहिलो भूमिकामा एक युनिट छ जसले सजिलै मोटो रकम लिएर भारतबाट मल तस्करी गर्न दिन्छ। र अर्को युनिट छ जसले तस्करीका सामानहरू पहिला छापा मार्ने अनि भन्सार कार्यालयमा बुझाएर त्यहाँ बाट कमिसन लिन्छ।

प्रहरीले तस्करसँग साँठगाँठ गरी तस्करी गर्न दिने र फेरि छापामारी गरी बरामद भएको सामान भन्सारमा बुझाएर त्यहाँबाट आएको कमिसन लिने गरी दोहोरो आम्दानी गरिरहेको स्थानीयहरुको आरोप रहेको छ।

गत शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजपुर नगरपालिका ५ का रुदल साह र कन्हैया साहको घरबाट एक हजार तीन सय छ बोरा रासायनिक मल बरामद गरेको थियो। चार राउन्ड अश्रुग्याँस प्रहार गरेर बरामद गरेको मलको घटना सेलाउन नपाउँदै बिहीबार पनि प्रहरीले भारी परिमाणमा अवैध तस्करीको मल बरामद गरेको छ।

भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको मल बिहीबार करिब दुई सय सुरक्षाकर्मी परिचालन गरी राजपुर नगरपालिका ६ पानी टंकी चौकस्थित इरफान खानको घरबाट २५३ बोरा र शेख अन्सारुलको घरबाट २१३ बोरा गरी ४६५ बोरा मल बरामद गरेको हो।

विभिन्न नाकाबाट तस्करीको माध्यमले ल्याएर राखेको अवैध भारतीय मललाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार दिउँसो करिब तीन बजेतिर आशंका गरिएको ठाउँमा छापा मारेको थियो। बरामद गरेर ल्याएको सो मल प्रहरीले गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एक हप्तामा दुई पटक छापामारी गरेर भारी परिमाणमा मलखाद प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्करहरूले अवैध रूपमा ल्याएर भण्डारण गरेको मललाई व्यवस्थापन गरिरहेको समाचार स्रोतको भनाइ छ। तस्करहरूले एक ठाउँमा बढी मल नराख्ने गरी व्यवस्थापन गरिरहेको र गोदामभन्दा बाक्लो बस्तीको घरमा मल लुकाउन थालेको स्रोतको दाबी छ।

स्थानीय प्रहरीको मिलेमतोमा रौतहटको नरकटिया, रामपुरखाप, जयनगर, बंकुल, कोपवा नाका हुँदै रासायनिक मलको व्यापक तस्करी भइरहेको छ। सर्वसाधारण किसानले आफ्नो खेतमा हाल्नको लागि मल ल्याउँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुःख दिने गरेको तर तस्करहरूले एउटै मोटरसाइकलमा छ बोरासम्म लोड गरी गोदाममा ल्याएर राख्दा केही नगर्ने स्थानीयहरूको गुनासो छ। उनलेहरुले प्रहरी आफै मोटो रकम लिएर तस्करहरुलाई लाइन दिएको बताउँछन्।

गत शुक्रवार छापामारी गरी नियन्त्रणमा लिइएको २० लाखभन्दा बढी मूल्यको रासायनिक मल १० लाख दुई हजारमा लिलाम भएको थियो। गौर भन्सार कार्यालयका नायब सुब्बा रेवती रोक्काको चलखेलमा करिब आधा मूल्यमा लिलाम भएको र बेपारीहरुसँग सेटिङ गरेको घटना नसेलाउँदै फेरि अर्को छापामारी काण्ड भएको हो।

प्रकाशित: ४ जेष्ठ २०८० १६:३० बिहीबार