समाज

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

रौतहट- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

जिल्लाको सदरमुकाम गौरको बीपी चोक, सखुअवा, जयनगर, गरुडालगायतका मुख्य चोकमा बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रहरीको गोलीले सप्तरीमा तीन जनाको मृत्यु भएपछि मोर्चाका कार्यकर्ताहरुले सोमबार साँझ पनि जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए। बिहानी सत्रमा चल्ने कक्षा ११ र १२ को कक्षा कुनै पनि विद्यालयमा चल्न सकेको छैन भने क्याम्पस पढ्न पुगेका विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन्।

यातायात र बजार पूरै ठप्प छ। लामो दूरीको यातायातदेखि स्थानीय रुटमा चल्ने सम्पूर्ण सार्वजनिक यातायात पनि ठप्प छ।

प्रदर्शनकारीले गौरमा प्रहरीको एउटा मोटरसाइकलमा तोडफोड गरेको छ। जिल्लामा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरलले बताएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७३ ०३:४७ मंगलबार

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन प्रहरीको मोटरसाइकलमा तोडफोड