समाज

वडाका सिफारिस अनलाइन बाटैदिने तयारी

विराटनगर महानगरपालिकाले वडाबाट गरिने सिफारिसहरू अनलाइनबाटै सेवाग्राहीलाई प्रदान गर्ने तयारी थालेको छ।

प्रविधिको उच्चतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवाप्रबाह गर्ने उद्देश्यले वडाहरूले गर्ने  सिफारिस अनलाइनबाटै लिन सकिने व्यवस्था गर्न लागेको हो। 

महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने तयारी गरिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए। 

महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व सङ्कलनलाई प्रविधि मैत्री बनाउन लागिएको मेयर कोइरालाले बताए। कोइरालाले भने‘ सेवाग्राहीले कुर्न पनि काम लिएर वडा कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले वडाबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन लागेका छौँ।’ कोइरालाले इ–सेवा केही वडामा परीक्षणका लागि सुरु गरिसकेको र अब, सबै वडामा विस्तार गर्ने तयारी गरिएको बताए।

वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रुपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताइन्।

‘अनलाइनमार्फत कसरी सेवा लिने भनेर महानगरवासीलाई विभिन्न माध्यमबाट जानकारी गराउनेछौं’, कर्णले भनिन्। अनलाइनको माध्यमबाट सेवा प्रवाहका लागि पहिलो चरणमा  वडा सचिवहरूलाई अभिमुखीकरण तालिम दिइसकेको महानगरपालिकाले वडाका अन्य कर्मचारीलाई पनि तालिम दिने तयारी गरेको जनाएको छ। 

प्रकाशित: ४ जेष्ठ २०८० १०:०० बिहीबार

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला वडाका सिफारिस अनलाइन बाटैदिने तयारी विराटनगर महानगरपालिका