समाज

स्याउमा झुसिल किराको प्रकोप देखियो

जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १ सय ५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो। स्याउको फल र फूल खान थालेपछि जिल्लाको प्राविधिक टोली त्यस क्षेत्रमा जाने भएको छ। त्यस्तै तातोपानी गापा र जिल्ला कृषि विकास समितिको पहलमा किराको प्रकोप व्यवस्थापन गर्न जिल्लास्तरीय बैठक बसेको छ।

त्यो बैठकले तत्काल प्राविधिक टोली खटाउनुका साथै आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारलाई माग गर्ने निर्णय गरेको छ। त्यो ठाउँमा एक महिनादेखि किरा लागेको थियो। गाउँपालिकाको कृषि शाखाको टोली त्यहाँ पुगेर अनुगमन समेत गरेको छ। त्यस क्षेत्रमा गएर फर्किएको टोली आवश्यक स्रोत साधन तथा विज्ञ टोलीको आवश्यकता रहेको बताएको छ। टोलीले झुसिल किरा अत्यधिक लागेकाले हटाउन ठूलै अभियान थालिनुपर्ने बताएको छ। 

स्याउको फलमा किराले जाली लगाएर सखाप पार्न थालेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए। उनले भने, 'स्याउको हाँगामा जाली बनाएर फल खान थालेको छ।'

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार किरा निराकरण नगरे तराफीका चार सय घरधुरीका किसानको क्षति पुग्ने भएको छ। जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा प्रधानमन्त्री कृषि आधुनिकिकरण सुपरजोन कार्यालय, कृषि अनुसन्धान केन्द्र, वागवानी अनुसन्धान केन्द्र, तातोपानी गाउँपालिका कृषि शाखा, वडाध्यक्ष र पत्रकार महासंघको प्रतिनिधि सहितको टोली त्यहाँतिर पठाउने निर्णय भएको छ।किरा व्यापक फैलिएको हुँदा केन्द्र सरकार तथा प्रदेश सरकारलाई विज्ञटोली सहित पठाउन अनुरोध गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८० ०२:४९ बिहीबार

जुम्लाका स्याउमा झुसिल किराको प्रकोप देखियो