समाज

सुन तस्करको नेपाली जालो छिन्नभिन्न

काठमाडौं— प्रहरीले संयुक्त अरब इमिरेटस (युएई) बाट नेपालमा सुन भिœयाउन सक्रिय तस्कर छिन्नभिन्न भएको दाबी गरेको छ । प्रहरीले फागुन ११ मा युएई प्रहरी र त्यहाँको गुप्तचर निकायलाई पत्र लेखी सुन तस्करीमा संलग्न ४१ जना व्यक्तिको विवरण पठाएको छ।

प्रहरीले राजधानीको आरके ज्वैलर्सका राजेन्द्रकुमार शाक्य र मालिका बज्राचार्य शाक्य, सालिमार ज्वैलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, साइराम ज्वैलरीका विभूति अमोल बालचन्द्रा र वैभवलक्ष्मी ज्वैलर्सका प्रमोद श्रेष्ठलाई फरार सूचीमा राखेर मुद्दा बुझाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले लेखेको पत्रमा सुन तस्करीमा संलग्न व्यक्तिको राहदानी नम्बर र स्थायी ठेगाना उल्लेख छ । यस्तै पत्रमा युएईमा उनीहरू बसोबास गरिरहेको क्षेत्र र व्यवसायसमेत छ।

ब्युरो प्रमुख डिआईजी नवराज सिलवालले आइतबार आयोजित पत्रकार सम्मेलनमा तस्करीमा संलग्न रहेर फरार रहेका व्यक्ति जुन देशमा रहे पनि पक्राउ पर्ने दाबी गरे । उनले फरार व्यक्तिका हकमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगका लागि आग्रह गरिने बताए । इन्टरपोलको सहयोगका लागि एक तहको अदालतले फैसला वा सोहीअनुसार आदेश आवश्यक  पर्छ।

पुस २१ गते युएईबाट भित्रिएको साढे ३३ किलोग्राम सुन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भए पनि ब्युरोले संगठित अपराधमा अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा पक्राउ गरेका १२ जनासहित ३३ जनालाई प्रतिवादी बनाउँदै आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाइएको छ।

प्रहरीले राजधानीको आरके ज्वैलर्सका राजेन्द्रकुमार शाक्य र मालिका बज्राचार्य शाक्य, सालिमार ज्वैलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, साइराम ज्वैलरीका विभूति अमोल बालचन्द्रा र वैभवलक्ष्मी ज्वैलर्सका प्रमोद श्रेष्ठलाई फरार सूचीमा राखेर मुद्दा बुझाएको छ । वैभवलक्ष्मी ज्वैलर्सका मनोज श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र सघन श्रेष्ठ पक्राउ परेका छन् । यी काठमाडौंमा नाम चलेका गरगहना पसल हुन्।

युएईबाट सुन भित्र्याउन विमानस्थल कर्मचारी र तस्करबीच सामाजिक सञ्जालमार्फत पटकपटक सूचना आदानप्रदान भएको ब्युरोले जनाएको छ। युएईबाट सुन पठाएको, बोकेर आउने व्यक्ति र लगेजको तस्बिर तथा सुन भित्रिएर सुरक्षित स्थानमा पुगेको सूचनासमेत आदानप्रदान भएको थियो। तस्करका नाइके भनिएका रोशन खड्काले विमानस्थल कर्मचारी राजकुमार ढकालसँग पटकपटक सम्पर्क गरेका थिए । प्रहरीले सार्वजनिक गरेको कुराकानी विवरणमा भन्सार कर्मचारीले तस्करसँग बिदा बस्नसमेत सोध्ने गरेका थिए । खड्का र ढकालबीच सुन आउने दिन, एक्सरे मेसिनको अवस्था, विमानस्थल सुरक्षा, कुन कर्मचारी कहाँ खटिएको भन्ने सूचनासमेत आदानप्रदान भएको थियो।

तस्करीको सुनमा किलोको ५० हजार
विमानस्थल सुरक्षा र भन्सार कर्मचारीले पछिल्लो तीन वर्ष (सन २०१४ देखि २०१७ ) सम्म नियमित रूपमा रेट तोकेर रकम उठाउने गरेको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार तस्करीको सुनमा प्रतिकिलो ५० हजारदेखि ८० हजारसम्म बैंकमार्फत कर्मचारीले रकम बुझ्ने गरेका थिए।

ब्युरोले पक्राउ परेका सरकारी कर्मचारीको बैंक खातामा यस अवधिमा सबैभन्दा बढी रकम कारोबार भएको प्रमाणसमेत अदालतमा बुझाएको छ । यसरी ठूलो रकम कारोबार गर्नेमा श्रीनारायण यादव छन् । उनले एसियन पोली पाइप इन्ड्रस्टिज हेटाैंडामा छोरा पंक्जका नाममा ५७ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् । यस्तै काठमाडौं सिनामंगलका दुई स्थानमा पत्नी फूलकुमारीका नाममा घरघडेरी जोडेका छन्।

प्रहरी हिरासतमा रहेका विमानस्थल कर्मचारी राजकुमार ढकालको बैंकखातामा सन् २०१४ यता ७७ लाख ५२ हजारभन्दा बढी रकम जम्मा भएको छ । अर्का कर्मचारी श्यामकृष्ण श्रेष्ठको खातामा यसै वर्ष दुई करोडभन्दा बढी रकम जम्मा भएको छ ।

दुबई–काठमाडौं–दुबईमा तस्करी
सुन तस्करीमा संलग्न मुख्य आरोपितको समूह दुबईमा बसेर लामो समयदेखि कारोबारमा सक्रिय रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दुबईमा विभिन्न व्यापारमा संलग्न हरिशरण खड्का, रोशन भुसाल भनिने गुप्तलाल भुसाल, कृष्णगोपाल अग्रवाल र राजनप्रसाद पन्थको समूहले नेपालमा सुन भिœयाउँदै आएको छ । प्रहरीका अनुसार दुबईमै रहेका अर्जुनप्रसाद खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्जय भनिने दुर्गाप्रसाद खरेल, गोपी भुसाल र धु्रवको समेत सुन तस्करीमा लगानी छ । प्रहरीले तस्कर समूहका एकजना सन्तोष काफ्लेलाई मात्र पक्राउ गरेको छ ।

यस्तै नेपालमा सुन बुझ्ने, भण्डारण गर्ने र नेपालबाट पैसा पठाउने समूहका रामहरि कार्की पक्राउ परेका छन् । काठमाडौंमा दरबार रोधी क्लबका सञ्चालक कार्कीले नेपाल तर्फको सम्पूर्ण जिम्मा लिएर तस्करलाई सघाउँदै आएका थिए । सोही समूहका रुबिन भनिने रामप्रताप खड्का र प्रकाश भनिने बुद्धिराम खरेल फरार छन् ।

१०८ पटक भरिया
प्रहरीले फरार भनेका विष्णु सुवेदीले एक सय आठ पटकसम्म सुन ओसारपसार गरेको पुष्टि भएको छ। पछिल्लो एक वर्षको अध्यागमन विवरणअनुसार सुवेदी एकै दिन युएईको शारजहा गएर फर्केका थिए । यस्तै मुख्य भरियाका रूपमा निरज भनिने भोला मगर, सांकेत खतिवडा, माधव सुवेदी र गोपाल शाही रहेको ब्युरोले जनाएको छ।

विमानस्थलका कर्मचारी श्रीनारायण यादव, राजकुमार ढकाल र श्याम श्रेष्ठ प्रहरी हिरासतमा रहे पनि प्रद्युम्नहरि श्रेष्ठ, गंगा भूर्तेल र तेजबहादुर श्रेष्ठ फरार भन्दै मुद्दा दर्ता भएको हो । यस्तै विमानस्थल सुरक्षा गार्डमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामकुमार खत्री पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण र अख्तियारलाई पत्र
ब्युरोले पक्राउ परेका सरकारी कर्मचारी, तस्करका नाइके र व्यापारीको आर्थिक कारोबार अपारदर्शी र अत्यधिक रहेको प्रमाणसहित थप अनुसन्धान र कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ।

प्रहरी अनुसन्धानमा नेपालका ठूला जलविद्युत् आयोजना, विद्यालय र दुबईमा मनोरञ्जन र अन्य क्षेत्रमा तस्करको लगानी रहेको प्रमाण फेला परेको छ ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०२:४३ सोमबार

सुन तस्करको नेपाली जालो छिन्नभिन्न