समाज

अज्ञात समूहबाट महिलाको हत्या, श्रीमान गम्भीर

रौतहट— अज्ञात समूहले रौतहटमा एक दम्पत्तिको हत्याको प्रयास गरेको छ। आइतबार बिहान करिब साढे तीन बजेको रौतहटको कनकपुर गाविसमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।

खुकुरी प्रहारबाट गम्भीर घाइते सनादलाई उपचारको लागि हेटौडातर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटको कनकपुर गाविस २ स्थित शेख साविर र उनकी २५ वर्षीया श्रीमती सनाद खातुन ओछ्यानमा सुतिरहेको अवस्थामा ५ जनाको समूहमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन्।

खुकुरी प्रहारबाट गम्भीर घाइते सनादलाई उपचारको लागि हेटौडातर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सोही समूहको आक्रमणबाटसँगै सुतेका मृतकका श्रीमान साविर गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट घाइते साबिरको उपचार रौतहटकै चन्द्रनिगाहपुर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन्।

घरमा पसी अज्ञात समूहले आक्रमण गरेपछि घरका सदस्य चिच्याएका थिए। चोरको हल्ला बुझेर गाउँलेहरु ब्युँझिएका थिए। साबिरको घरतिरबाट हल्ला आएको सुनेर दौडेर गाउँलेहरु गएपछि आक्रमणकारी समूह भागेको थियो।

साबिर परिवार घरबाट बाहिर ननिस्केपछि घरको ढोका खोलेर हेर्दा दुवैजना खुकुरी प्रहारबाट गम्भीर घाइते भई अचेत अवस्थामा फेला परेका थिए। दम्पतिमाथि आक्रमण गर्ने समुहको खोजतलास भइरहेको तथा घटनाबारे अनुसन्धान कार्य जारी रहेको एसपी पोखरेलले बताए।

प्रकाशित: २२ फाल्गुन २०७३ १३:०३ आइतबार

अज्ञात समूहबाट महिलाको हत्या श्रीमान गम्भीर