समाज

बस्तीनजिकै देखियो डमरुसहितको पाटेबाघ

टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।

स्थानीय नरेश ऐरले आफ्नो बच्चालाई मुखमा बोकेर हिँडिरहेको पाटेबाघको भिडियो खिचेका छन्। उनका अनुसार रानीकुलाको इन्टेक नजिकैको नहरको सडकमा पाटेबाघ देखिएको हो।  

बच्चासहित बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीयमा त्रास फैलिएको छ। बच्चा बोकेर हिँडेको पाटेबाघले कुनै पनि बेला आक्रमण गर्न सक्ने बताइन्छ। ‘उसले आफ्नो बच्चाको सुरक्षाका लागि आक्रमण गर्छ’ स्थानीय बलविर चौधरीले भने, ‘बच्चा सहितको बाघ निकै रिसाहा हुन्छ।’

कैलालीको पूर्वी भेगका बस्तीमा पछिल्ला वर्षहरुमा जंगली जनावरको प्रवेश बढ्न थालेको छ। टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न बस्तीमा बेलाबेलामा जंगली जनावरले मान्छेलाई आक्रमण समेत गर्ने गरेका छन्। जंगली जनावरको आक्रमणमा परेर कतिपयले ज्यान समेत गुमाएका छन्।

२०७९ असार ५ गते जंगली हात्तीको आक्रमणमा परेर टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ की ५० वर्षीया टंक सोडारीले ज्यान गुमाइन्। कर्णाली नदी किनारमा भैरहेको तटबन्धमा मजदुरी गरेर फर्किरहेकी सोडारीलाई जंगली हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो।

२०७९ मंसिर ८ गते सोही ठाउँकी ढुन्की कठायतलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो। उनलाई भुराखानी सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरेको थियो।

त्यस्तै २०७९ चैत २४ गते टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाका २७ वर्षका पवन आउजीलाई समेत चितुवाले आक्रमण गरेर घाइते बनायो। उनलाई चितुवाले आक्रमण गरेपछि स्थानीयले होहल्ला गरेर भगाएका थिए। उनको हात र खुट्टामा चोट लागेको थियो।

तीन वर्ष अघि चितुवा दिउँसै टीकापुर बसपार्क नजिकै देखिएको थियो। सोही चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाइते भएका थिए। चितुवाले केही स्थानीयलाई समेत आक्रमण गरेको थियो।

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ को एक घर छेउमा लुकेर बसेको चितुवालाई समात्न सेनाको टोलीलाई दिनभर लागेको थियो। ४ राउण्ड गोलीहानेपछि चितुवा नियन्त्रणमा आएको थियो।

करिव दश वर्षअघि गैंडा टीकापुर बजारमै प्रवेश गर्यो। बाघमारा, वन गाउँ हुँदै टीकापुर प्रवेश गरेको गैंडाले मान्छेलाई भने आक्रमण गरेन। बिहानको समय भएकाले मान्छेको चहलपहल थिएन। टीकापुर एयरपोर्टको छेउ हुँदै गैंडा भुराखानी जंगल तर्फ प्रवेश गरेको थियो।  

प्रकाशित: ३ जेष्ठ २०८० १०:५८ बुधबार

पाटेबाघ