समाज

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा

खोटाङ– खोटाङको माक्पास्थित सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ ।

सुक्खा मौसमका बेला उत्तरी गाविस माक्पा–७ र ८ स्थित भीर गाउँ सामुदायीक वनमा शुक्रबार बिहान सुरु भएको भिषण डढेलो नियन्त्रणमा आएको हो । ऐसेलुखर्कस्थित नेपाली सेनाको बेस क्याम्पबाट खटिएका सेना, इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयले बनमा फैलिएको डढेलो नियन्त्रणमा लिएको स्थानीय भानु निमावि लेवाका प्रधानाध्यापक डिल्लीकेशर भण्डारीले बताए।

सल्लैसल्लाले ढाकिएको घना जंगल र जंगलभित्र प्रशस्त मात्रामा सुकेका काठदाउरा र पातपतिङ्गर भएका कारण डढेलो नियन्त्रणमा लिन कठिन भएको थियो। 

‘वनको बिचबाट अझै पनि धुँवा निस्किरहेको छ,’ प्रअ भण्डारीले भने, ‘तर, हावाहुरी नआए अन्यत्र फैलिने सम्भावना कम छ ।’ जंगलमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन। 

डढेलो नियन्त्रणमा आएपनि सुकेका रुख र ठुटाको आगो अझै बलिरहेको छ। पानीको अभावमा ठुटोमा बलिरहेको आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् । डढेलो फैलिने सम्भावना कम भएपछि सेना र प्रहरी फर्किसकेका छन्। दिउँसो नियन्त्रणमा आउन लागेकोबेलामा हावाहुरी चलेका कारण पुःन डढेलो फैलिएर नियन्त्रण बाहिर गएको थियो। डढेलो नियन्त्रण बाहिर जाँदा माक्पा–७ र ८ तथा माक्पा–१, २, ४ र ५ वडाका बस्ती उच्च जोखिममा परेको थियो । सामुदायीक बनमा फैलिएको आगो नियन्त्रणका लागि सेना र प्रहरीले अर्कातिरबाट अर्को डढेलो लगाएका थिए। 

‘हामीलाई डढेलो निभाउने यस्तो बिधिको बिषयमा के थाहा,’ भण्डारीले भने, ‘सेना र प्रहरीले डढेलोको अर्कातिरबाट अर्को डढेलो लगाएर निभाएर अग्नी रेखा बनायो। आउँदै गरेको डढेलो त्यही आएर टुंगियो।’

करिब सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा दुई वर्षअघि पनि भीषण डढेलो लागेको थियो । उसबेला पनि नियन्त्रणमा लिन नसक्दा जंगल सखाप भएपछि ५ दिनमा डढेलो आफै नियन्त्रणमा आएको प्रअ भण्डारीले बताए । दुई वर्षअघिको डढेलोपछि बल्ल–बल्ल हुर्किन लागेको बोटबिरुवा पुःन नष्ट भएको छ ।
 

प्रकाशित: २१ फाल्गुन २०७३ १०:४० शनिबार

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा