समाज

लोकप्रिय बन्दै म्हेन्दोमाया दोरा

काठमाडौं- 'लाप्साङ कार्पो (गणेश हिमाल) को सिमाना छिचोलेर म्हेन्दोमाया देशविदेश पुग्दा धेरै खुसी छु किनकि यो हाम्रो गौरवपूर्ण सम्पदा हो', बुधबार साँझ टुँडिखेलको ग्याल्बो ल्होसार कार्यक्रममा म्हेन्दोमाया दोरा गाएर स्टेजबाट झरेपछि धादिङका कलाकार रोशन फ्युबाले भने। पछिल्लो समय म्हेन्दोमाया दोरा भाका काठमाडौंमा लोकप्रिय हुन थालेको छ। उनी पनि विभिन्न कार्यक्रम र चाडपर्वका बेला म्हेन्दोमाया गाउन व्यस्त हुन थालेका छन्। 

तामाङ लोकभाका सेलोले धेरै अघि लोकप्रियता हासिल गरिसके पनि केही वर्षअघिसम्म म्हेन्दोमाया दोरा भाकाबारे थोरैलाई मात्र थाहा थियो। म्हेन्दोमाया दोरा भाकामा पहिलो गीतिसंग्रह रेकर्ड गर्ने श्रेय धादिङकै कलाकार हेम वाइबालाई जान्छ। २०५४ मा म्हेन्दोमाया युवा समाज स्थापना भएपछि म्हेन्दोमाया दोरा भाकाको प्रवर्द्धन सुरु भएको हो। कलाकार वाइबा स्मरण गर्छन्, '०५६ सालतिर हामीले म्हेन्दोमाया दोरा गाउँदा यहाँका धेरैलाई थाहा थिएन।'

तर अहिले स्थिति फेरिएको छ। वाइबालगायतका धादिङ र नुवाकोटका कलाकारको अथक प्रयासले म्हेन्दोमाया दोराले लोकप्रियता हासिल गरेको छ। 'अहिले नेपाल, भारतदेखि युरोप, अमेरिकामा समेत म्हेन्दोमाया दोरा गुन्जिन थालेको छ', कलाकार वाइबाले भने। म्हेन्दोमाया दोरा भाकामा नेपाली शब्द भरेर व्यावसायिकसमेत बनाउन थालिएको छ। कलाकार वाइबाले गत वर्ष म्हेन्दोमाया दोराकै एकल साँझ गरे। पछिल्लो समय सांस्कृतिक कार्यक्रममा म्हेन्दोमाया भाका अनिवार्य रूपमा समेट्न थालिएकोे कलाकारको भनाइ छ।

के हो म्हेन्दोमाया दोरा?

गणेश हिमाल र लाङटाङ नजिक पर्ने धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायले खुसी र शोकका बेला गाउने भाका दोरा हो। दोराका मूलतः दुई स्वरूप हुन्छन् – माने दोरा र म्हेन्दोमाया दोरा।

माने दोरा शोकका बेला मानिसको गोलो घेरा लगाएर गीत गाउँदै नाचिन्छ। यसमा मृतकको आत्मा शान्तिको कामना तथा परिवारलाई समवेदना दिने शब्द हुन्छ। कलाकार वाइबा भन्छन्, 'समवेदना प्रकट गर्ने तामाङ जातिको मौलिक तरिका भने पनि हुन्छ।'

म्हेन्दोमाया दोरा रमाइलो उत्सवमा नाच्दै गाउने मीठो भाका हो। यो भाका युवायुवतीको प्रेम साटासाट गर्ने माध्यम हो। 'विवाह, छेवर, ल्होछार, जात्राजस्ता उत्सवमा म्हेन्दोमायामा युवायुवतीका मायाप्रेमका कुरा व्यक्त हुन्छन्', कलाकार वाइबाले भने।

म्हेन्दोमाया पछिल्लो पुस्ताले प्रवर्द्धन गरेको दोरा हो। कलाकार हेम वाइबाका अनुसार ३० को दशकमा म्हेन्दोमाया दोराको चलन सुरु भएको हो। 'पश्चमेली तामाङ गीतमा 'म्हेन्दोमाया' थेगो मिलाएर गाउन थालेपछि यसको नाम म्हेन्दोमाया रह्योे', कलाकार वाइबाले भने, 'तर यसको मूल स्रोतचाहिँ दुःख पर्दा गाइने माने दोरा नै हो।'

म्हेन्दोमाया दोरा ठूलो समूहमा नाचिन्छ। खुट्टा अगाडिपछाडि उचाल्दै नियमित तालमा गाउँदै नाचिने कलाकार रोशन फ्युबाले बताए। यसमा ठट्यौलीका शब्द हालेर दोहोरी जस्तै सबालजबाफ गरिन्छ। त्यस्तै यो पुरुष र महिला समूह आमनेसामने भएर नाच्ने भाका हो। आआफ्नो समूहको लहरमा एकअर्काको हात कम्मरमा बेरेर एकएक चरण पालैपालो अगाडि र पछाडि सर्दै नाचिने कलाकार फ्युबाले बताए। यो भाकामा बालबालिका, किशोरकिशोरी, वयस्क तथा पाका उमेरकाले समेत एकैपटक नाच्न र गाउन सकिन्छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०३:३० शुक्रबार

लोकप्रिय बन्दै म्हेन्दोमाया दोरा