समाज

हेटौंडामा कवितामार्फत भ्रष्टाचारको विरोध

तस्बिर: भ्रष्टाचार विरुद्धको कविता वाचन गर्दै एक साहित्यकार।

मकवानपुरका कविहरुले सडकमा कविता वाचन गरेर भ्रष्टाचार विरुद्धको सचेतना अभियान सञ्चालन गरेका छन्।  

आइतबारदेखि सुरु भएको भ्रष्टाचार विरुद्धको कविता वाचन कार्यक्रम सोमबार हेटौंडा ४ को सितल महल चोकमा भएको हो। साहित्यकारहरुले कविता, गजल, प्यारोडी वाचन गर्ने गरेका छन्। भ्रष्टाचार विरुद्ध नागरिक सचेतनाका लागि सर्जक सञ्जाल मकवानपुरको अग्रसरतामा कार्यक्रम सञ्चालन भैराखेको हो।

सर्जक सञ्जाल मकवानपुरले एक सातासम्म दिनदिनै हेटौंडाको चोक–चोकमा रचना वाचन गर्ने कार्यक्रम तय गरेको छ। सञ्जालका संयोजक निमेष निखिलले हरेक सचेत नागरिकले भ्रष्टाचारका विरुद्ध बोल्नुपर्ने समय आएको बताए। ‘मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबिसेको छ। नक्कली भुटानी शरणार्थीदेखि अनेक काण्डहरु आइरहेका छन्’, उनले भने, ‘भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो भनाइ हो।’ साहित्यकारहरुले देशमा भैरहेको व्याप्त भ्रष्टारचारको विरुद्धमा रचनामार्फत खबरदारी गरेका थिए।

सोमबारको रचना वाचनमा साहित्यकार पुरुषोत्तम आचार्यले छन्द कविता ‘विडम्बना’, शम्भुप्रसाद बास्कोटाले ‘जाग जाग नेपाली’ गीत, हरि पौडेलले गजल, स्वस्तिका दाहालले प्यारोडी गीत तथा सुवास सजल, सम्प्रस पौडेल लगायतका साहित्यकारले कविता वाचन गरेका थिए। साहित्यकारको रचना सुन्नका लागि सर्वसाधारण बाक्लो संख्यामा उपस्थित रहेका थिए। सर्जक सञ्जालले स्वतःस्फूर्त रुपमा यस कार्यक्रममा सहभागी हुन साहित्यकार तथा सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।  

प्रकाशित: १ जेष्ठ २०८० १३:५३ सोमबार

भ्रष्टाचार