समाज

चन्दलाई बढुवा नगर्ने आदेश कायमै

काठमाडौं- सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने गरी सरकारको निर्णयमा यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको छ। सरकारले चन्दलाई गरेको बढुवासम्बन्धी विषय सर्वोच्चको पूर्ण सुनुवाइपछि टुंगो लगाउने भएको छ।

फागुन १ मा बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई नियुक्ति गरेको थियो। नियुक्तिकै दिन सर्वोच्चले चन्दलाई पदमा काम नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशलाई निरन्तरता दिँदै बुधबार सर्वोच्चले चन्दको नियुक्ति रोकेको हो।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नुपर्ने आधार र कारणसमेत उल्लेख नभएकाले सरकारले फागुन १ मा गरेको निर्णयअनुसार पदबहाली नगर्न/नगराउन आदेश दिएको हो।

प्रहरी प्रमुखजस्तो पदलाई लामो समय रिक्त राख्न नहुने भन्दै सरकारले लिखित जबाफ पेस गरेको मितिले तीन दिनभित्र पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश भएको छ। 

अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवालगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। प्रहरी नियमावली २०७१ को नियम ४१ मिच्दै महानिरीक्षकमा बढुवा गरिएको भन्दै अधिवक्ता ढकालले निवेदन दर्ता गरेका थिए।

फागुन १ मा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले डिआइजी चन्दलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दाका मूल्यांकन फाइल र बढुवासम्बन्धी निर्णयको फाइल तीन दिनभित्र झिकाउनसमेत आदेश दिएको थियो।

प्रहरी महानिरीक्षकका लागि योग्य भई प्रतिस्पर्धामा रहेका चारजनामध्ये तीन नम्बरमा रहेका चन्दलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको थियो। सरकारले कानुन मिचेर प्रहरी महानिरीक्षकमा चन्दलाई नियुक्ति गरेको भन्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

बुधबार भएको आदेशमा भनिएको छ, 'प्रहरी महानिरीक्षक पदको बढुवामा सामेल गराई नियम ४१ को अधीनमा रही मूल्यांकन गरिएको भन्ने नदेखिएकाले विपक्षी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नेगरी भएको निर्णयलाई यथास्थितिमा राख्नु।'

रिट निवेदक अधिवक्ता ढकालले करिब ७२ हजार रहेका राज्यको अत्यन्त संवेदनशील सुरक्षा निकाय नेपाल प्रहरीको प्रमुख पद प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सन्दर्भमा कानुनले नचिनेका व्यक्तिलाई नियुक्ति गर्न लागिएको भन्दै रिट दर्ता गरेका थिए।

प्रकाशित: १९ फाल्गुन २०७३ ०२:५६ बिहीबार

चन्दलाई बढुवा नगर्ने आदेश कायमै