समाज

मापसेबाट २१ करोड असुली, १८ हजार लाइसेन्स अझै ट्राफिकसँग (भिडियो)

काठमाडौंं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुलाई कारबाही गरी आर्थिक वर्ष २०६८/६९ को मंसिरदेखि हालसम्म २० करोड ९९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। करिब पाँच वर्षको अवधिमा ट्राफिक प्रहरीले मापसे गर्नेहरुसँग यो रकम असुलेको हो।

कारवाहीमा परेका मध्ये १८ हजार ५ सय ९१ जना हालसम्म कागजपत्र (लाइसेन्स र ब्लुबुक) लिन अाएका छैनन्।

यो अवधिमा मापसे कारवाहीका क्रममा २ लाख २८ हजार ५ सय ४२ जना कारवाहीमा परेका थिए। यसमध्ये २ लाख २७ हजार ९१ पुरुष र १ हजार ४ सय ५१ माहिलाहरु कारवाहीमा परेका थिए। समातिएका मध्ये २ लाख ९ हजार ९ सय ५१ ले राजस्व तिरेर कागजपत्र लगेका छन्। मापसे कारवाहीमा परेका मध्ये १८ हजार ५ सय ९१ जना हालसम्म कागजपत्र (लाइसेन्स र ब्लुबुक) लिन अाएका छैनन्।

‘मापसे कारवाहीका कारण सवारी दुघर्टनामा कमी आएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले भने, ‘मापसे कारवाहीमा परेका चालकहरुलाई सचेत गराउन हरेक दिन कक्षा सञ्चालन गरिरहेका छौं।’  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे कारवाहीमा परेकालाई नियमित दुई पटक जनचेतनात्मक कक्षा सञ्चालन गर्छ। 

चालू आर्थिक वर्ष (२०७३/७४) को साउनदेखि माघसम्म कुल १६ हजार ७ सय ७३ जना मापसे कारवाहीमा परेका थिए। यस मध्ये ५९ जना महिला र १६ हजार ७ सय १४ जना पुरुषहरु मापसे कारवाहीमा परेका छन्।  यीमध्ये केवल १२ हजार ९ सय १५ जनाले मात्र कारवाहीपछि राजस्व तिरेर कागज लगेका छन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गतको अन्वेषण तथा योजना शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार ०७० साउनदेखि ०७१ असारसम्म मापसे गरी कारवाहीमा पर्ने चालकहरुको सङ्ख्या अहिलेसम्मकै उच्च छ।  सो वर्ष काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चेक पोइन्टबाट ५४ हजार ५ सय ३५ जना समातिएका थिए। यीमध्ये ५४ हजार १ सय ६० पुरुष र ३ सय ७५ महिला मापसे कारवाहीमा परेका थिए। तीमध्ये केवल ५२ हजार १ सय ६५ जनाले राजस्व तिरेर लाइसेन्स र ब्लुबुक फिर्ता लगेका छन्।

पछिल्लो समय मापसे कारवाहीमा पर्ने चालकहरुको संख्यामा घट्दो क्रममा रहेको ट्राफिक तथ्याङ्कले देखाएको छ। ०७१ साउनदेखि ०७२ असारमा कुल ३६ हजार ६५ जना मापसे कारवाहीमा परेका थिए। त्यस्तै, ०७२ साउनदेखि ०७३ असारसम्मको तत्याङ्कअनुसार २९ हजार २ सय २२ जना मापसे कारवाहीमा परे पनि केवल २७ हजार ८ सय १८ जनाले राजस्व तिरेर कागज लगेको तथ्याङ्कले देखाएको छ। 

भिडियाे (फाेटाे/भिडियाेः प्रबिन काेइराला)

प्रकाशित: १८ फाल्गुन २०७३ ०९:४४ बुधबार

मापसेबाट २१ करोड असुली १८ लाइसेन्स ट्राफिकसँग भिडियो