समाज

११ घण्टापछि ओर्लिए हाइटेन्सन लाइनको खम्बामा चढेका युवा

हाइटेन्सन लाइनको खम्बामा चढेका मोरङ बुढीगंगा ७ का दिनेशकुमार माझी ओर्लिएका छन्।

गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले माग पुरा गर्ने आश्वासन दिएपछि माझी हाइटेन्सन लाइनको खम्बाबाट ११ घण्टा पछि ओर्लिएका हुन्।

शनिबार बिहान ६ बजे हाइटेन्सन लाइनको खम्बामा चढेका उनी दिउँसो पौने ५ बजे हाइटेन्सनलाईनको खम्बाबाट ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

दाहालका अनुसार खम्बामा चढेका व्यक्तिले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष आउनुपर्ने माग राखेका थिए। उनको माग अनुसार  गाउँपालिकाका अध्यक्षलगायतका पदाधिकारी घटनास्थलमा उपस्थित भए पछि उनी खम्बाबाट ओर्लिएका थिए।

गाउँपालिकाका अध्यक्ष र पदाधिकारीसँग उनले राखेको माग स्पष्ट नभए पनि सडक निर्माण समितिमा आफूलाई राख्नु पर्ने उनको आशय देखिएको दाहालले बताए। हाइटेन्सनलाईनको खम्बामा चढेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए।

उनका अनुसार माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। यता गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले आफू जिल्ला बाहिर गएको वेला घटना भएको जानकारी दिए। थापाका अनुसार केही दिन पहिले ती युवकले घर छेउको सडकमा काम भइरहेकाले त्यहाँ आफूलाई पनि काम गर्न दिन माग राखेका थिए। थापाले त्यति वेला तिमिलाई काम दिउँला भन्ने आश्वासन दिएका थिए।

शनिबार हाइटेन्सनलाईनको खम्बामा चढेर दिनेशले गाउँपालिकाको अध्यक्ष आए मात्रै ओर्लने अडान लिएका थिए। गाउँपालिकाका अध्यक्ष थापा पाथीभरा माताको दर्शन गर्न गएकाले बिहानै खबर पाए पनि आउन ढिला भएको थियो।

‘म आएर भाइ उत्र भन्ने बित्तिकै पोलबाट उत्रिए’ थापाले भने‘ उनले पुनः घरछेउमै सडक बनाउने काम चलिरहेकाले यहाँ आफूले काम पाउनुपर्ने माग गरे।’ थापाका अनुसार दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि उनका परिवारसँग आफूले घटनाबारेमा छलफल गरिरहेको जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८० १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App