पक्राउ गर्न जाँदा हत्कडीसहित फरार रहेका बलात्कार आरोपीले पीडितको घर तोडफोड गरेका छन्।
कालिकोटको पलाँता गाउँपालिका–६ सैनका बलात्कार आरोपी शंक बुढासहितले पीडित दलित महिलाको घर तोडफोड गरेका हुन्।
वैशाख २५ गते बलात्कार आरोपी बुढालाई पक्राउ गर्न जाँदा स्थानीयले प्रहरीमाथिकै आक्रमण गरेको थियो। हत्कडी लगाएर सदरमुकाम ल्याउने क्रममा बुढाको घरको आँगनमै स्थानीयले आक्रमण गर्दा स्थायी प्रहरी पोष्ट करदेबका असई लक्ष्मीरुद्र रावत र पीडित परिवारका सदस्य धनमान बिक घाइते भएका थिए। बुढा हत्कडीसहित फरार भएका थिए।
बुढासहित पीडक परिवारका सदस्यहरुले पीडित महिलाको घर तोडफोड गरेको प्रहरीले बताएको छ। प्रहरीले हत्कडीसहित फरार रहेका बुढालाई अझै पक्राउ गर्न सकेको छैन। हत्कडी भने २६ गते बेलुका गाउँ नजिकैको जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
‘बलात्कार घटनाको प्रहरीमा जाहेरी दिएको भन्दै पीडक बुढासहित उनका आफन्तले घरमा आक्रमण गरेँ,’ पीडित परिवारका एक सदस्यले भने, ‘हामी न्याय माग्न जाँदा उल्टै अन्यायमा परिरहेका छौं।’ आफूहरूमाथि आक्रमण हुँदा र घर तोडफोड हुँदासमेत प्रहरीले कुनै चासो नदिएको आरोप लगाए। उनले आरोपी बुढाले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिएको सुनाए।
बुढालाई पक्राउ गर्न जाँदा प्रहरी र पीडित परिवारमाथि आक्रमण गर्ने मध्येका सात जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पलाँता गाउँपालिका–६ का २८ वर्षीय मैना बम बुढा, सोही ठाउँका ४२ वर्षीया जानकी बुढा, ६० वर्षीया जैपुरा बुढा, ५९ वर्षीया कलशा बम, ६१ वर्षीया जनकला बुढा र ३५ वर्षीय जल बुढा र १५ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई ज्यान मार्ने उद्योग मुद्दा लगाइएको छ।
बलात्कार आरोपी बुढा र उनकी अन्टी अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले नौ जनाको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताए।
‘ती मध्ये सात जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘बाँकीको खोजी भइरहेको छ।’ उनले घटनास्थल निकै दुर्गम भएकाले समस्या भइरहेको बताए। ‘पीडितको घरमा आक्रमण भएको पनि हामीले पछिल्लो दिनमा मात्रै जानकारी पायौं,’ उनले भने, ‘घटनास्थलबाट समयमै सूचना नआउँदा पनि समस्या भइरहेको छ।’ प्रहरी निरीक्षक बमका अनुसार पीडित परिवारका सदस्यहरुलाई आवश्यक सुरक्षाका लागि सदरमुकाम ल्याइएको छ।
प्रकाशित: ३० वैशाख २०८० १०:२७ शनिबार