समाज

उपभोक्तालाई जस्ता वितरण

समूहका गरिब तथा विपन्न उपभोक्तालाई जस्तापाता वितरण गरिँदै । तस्विरः महेश्वर

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।वडा कार्यालयको सिफारिस र छनौटमा परेका ११ घरधुरी बिपन्न तथा गरिब परिवारलाई समूहले जस्ता वितरण गरेको हो। 

त्रियुगा १६ नं. वडा तथा डिभिजन वन कार्यालय उदयपुरको समन्वयमा समूहले आर्थिक वर्ष ०७९÷८० को स्वीकृत वार्षिक कार्ययोजना अनुसार ‘गरिबी निवारण कार्यक्रम’ शीर्षकमा विनियोजित बजेटले जस्तापाता वितरण गरेको हो।वडाको घोषित ‘फुसको छानो विस्थापित तथा सुरक्षित नागरिक आवास कार्यक्रम’ कार्यान्वयन गर्न समूहले साझेदारी कार्यक्रम अनुसार जस्ता वितरण गरिएको वडाध्यक्ष मानबहादुर राईले बताए।उनका अनुसार समूहको सेवा क्षेत्रका उपभोक्ताहरू मध्ये विपन्न तथा आर्थिक अवस्था कमजोर भएका घरधुरीलाई प्रति घरपरिवार ३/३ बण्डल जस्ता वितरण गरिएको छ। 

शनिबार बेलदोभानस्थित समूहको कार्यालयमै आयोजित एक कार्यक्रममा डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साह, वडाध्यक्ष राई र समूहका अध्यक्ष तोपबहादुर मगर लगायत पदाधिकारीले उपभोक्ताहरूलाई जस्तापाता वितरण गरे।कार्यक्रममा अध्यक्ष मगरले वार्षिक स्वीकृत कार्ययोजना अनुसार वडाको योजना सफल पार्न साझेदारी कार्यक्रम गरेर जस्तापाता वितरण गरिएको बताए।

प्रत्येक परिवारलाई एउटा घर छाउन पुग्ने २४ पत्ताको ३ बन्डलका दरले जस्तापाता वितरण गरिएको समूहका अध्यक्ष मगरले बताए।उनका अनुसार समूहले चालु वर्षको सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्तर्गत विनियोजित ९ लाख रुपैयाँबाट जस्तापाता वितरण गरिएको र अन्य खानेपानी र सिँचाइका कार्यक्रम पनि सञ्चालन भईरहेको छ।यस्ता उपभोक्तामैत्री कार्यक्रम समूहले गत विगत वर्षहरूमा पनि सञ्चालन गर्दै आएको छ। 

आगामी दिनमा पनि समूहले यस्ता खाले उपभोक्तामैत्री कार्यक्रमहरु गरेर लक्षित वर्ग र समुदाय केन्द्रित बिभिन्न कार्यक्रम गर्दै लाने योजना अध्यक्ष मगरले सुनाए।त्यसका लागि डिभिजन वन र वडा कार्यालयसँग संयुक्त कार्यक्रम गर्न समन्वय र सहकार्यको काम भईरहेको छ।वातावरण बचाउनुका साथै वन विकाससँगै स्थानीयस्तरका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सिँचाइ, विद्युत र खानेपानीक्षेत्रमा पनि बिभिन्न गतिविधिहरू समूहले गरिरहेको समूहले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०८० ०९:१८ शनिबार

उपभोक्तालाई जस्ता वितरण डिभिजन वन कार्यालय उदयपुर सरस्वती सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका १६