समाज

पर्यटक भरियाको शव सात महिनापछि भेटियो

म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरबाट बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।

आरोहीको सामान बेसक्याम्प जाने क्रममा बाक्लो हिमपातका कारण पाँच हजार मिटर उचाइमा रहेको फ्रेन्च पासमा सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको हो । गत असोज २० गते देखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले बताए ।

 ‘हिउँले पुरिएको अवस्थामा शव भेटिएको थियो,‘आवश्यक प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाइने छ’ शेरचनले भने । नेपाली सेनाको हेलिकप्टरले लामाको शव आजै काठमाडौ लगिएको छ । पर्यटन व्यवसायी शेरचन सहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेन्च पासमा पुगेर शव निकालेका थिए।

काठमाडौको फोर सिजन टेकिङ एजेन्सी कम्पनी मार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए।अचानक आएको हिम पहिरोका कारण सोही समयमा आरोही, पदप्रर्दशक, मजदुरसँगै सामान ढुवानी गर्ने घोडा खच्चड समेत फसेको थियो।संसारको सातौँ (८,१६७) मिटर अग्लो हिमालमा बर्षेनी आरोही, पदप्रर्दशक र मजदुरले यात्राको क्रममा ज्यान गुमाउने गरेका छन्।  

प्रकाशित: ३० वैशाख २०८० ०८:२६ शनिबार

पर्यटक भरियाको शव सात महिनापछि भेटियो बेसक्याम्प फोर सिजन टेकिङ एजेन्सी कम्पनी