समाज

पोखरामा देखियो बर्डफ्लु

पोखरा- पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरा उपमहानगरपालिका–१८, खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको पशुसेवा कार्यालय कास्कीले बताएको छ।

पशुसेवा कार्यालयका पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालका अनुसार फागुन ६ गते परियारले पालेको हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गरिएको थियो। परियारले २० वटा हाँस र ११ वटा स्थानीय कुृखुरा पाल्न थालेकी थिइन्। हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गर्दा एचफाईभ एनवान नामक भाइरस भेटिएको अर्यालले बताए।

'परीक्षणका क्रममा बर्डफ्लुको पुष्टि भएको हो। संक्रमित क्षेत्रमा धमाधम हाँस र कुखुरा मार्न थालिएको छ,' उनले भने, 'प्रभावित क्षेत्रमा चारकिल्ला तोकेर नियन्त्रण सुरु गरिएको छ।' झन्डै दुईसाता अघि नै बर्डफ्लुको आशंका गरेपनि केन्द्रले घोषणा गर्न ढिलाई गरेपछि नियन्त्रणका लागि केहीदिन पर्खिनुपरेको अर्यालले बताए। उनका अनुसार सुरुमा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला र दोश्रोपटक केन्द्रीय प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो।

'संक्रमण थप फैलिन नदिनका लागि पुरै सचेत बनेका छौं। संक्रमित क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य बस्तुको ओसारपसारमा रोक लगाइएको छ,' उनले भने। उनका अनुसार रोग नियन्त्रणका लागि केन्द्रबाट डा. अवधेश झा नेतृत्वमा प्राविधिक टोली खटिएको छ। 'केन्द्र र स्थानीय तहको र्‍यापिड रेस्क्यु टिम खटिएको छ। रोग नियन्त्रणमा पुरै लागिपरेका छौं,' उनले भने।

अर्यालका अनुसार खाल्टेमसिना क्षेत्रका सबै घरका हाँसकुखुरा नष्ट गरिनेछ। 'घरमा जे–जति पंक्षी र पंक्षीजन्य बस्तु भेटिन्छन्। ती सबैलाई नष्ट गर्छाै,' अर्यालले भने, 'टोललाई नै पुरै नियन्त्रणमा लिन नसके फेरि फैलने जोखिम हुन्छ।' खाल्टेमसिना क्षेत्रका करिब ८० घरमा हाँसकुखुरा पालेको उनको अनुमान छ। 'घरैपिच्छेका हाँसकुखुरा नष्ट गर्ने हो,' उनले भने, '१–२ वटा भेटिएपनि नष्ट गर्नैपछि, नत्र पछि थप संक्रमण फैलिन सक्छ।'

प्रकाशित: १४ फाल्गुन २०७३ ०७:१५ शनिबार

पोखरामा देखियो बर्डफ्लु