समाज

आतंकवादविरुद्ध 'ट्रायल' कारबाही

काठमाडौं- प्रहरीलाई सूचना आउँछ, होटल टुँडिखेलमा आतंकवादीले २० जनाभन्दा बढीलाई बन्धक बनाएका छन्। बन्धकमा थोरै नेपाली र धेरै विदेशी छन्। प्रहरी उच्च कमान्डले गृह मन्त्रालयमा खबर गर्छ। गृहले प्रधानमन्त्री कार्यालयमा जानकारी पुर्‍याउँछ। यतिबेलासम्म नेपाली सेनाको इन्टिलिजेन्स डिर्पाटमेन्टसहित प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले घटनास्थलको भित्री र बाहिरी अवस्थाको जानकारी लिइसकेको हुन्छ।

अत्याधुनिक हतियारसहित सिंगो होटल कब्जामा लिएर बन्धक बनाएका आतंकवादीविरुद्ध कारबाहीका लागि तत्काल सरकारले सेनालाई तयारी अवस्थामा रहन र आवश्यकता अनुसार कारबाहीको निर्देशन दिन्छ। घटनास्थल तीनै सुरक्षा निकायले घेरा हाल्छन्। प्रतिआतंकवाद कारबाहीका लागि आवश्यक सबै उपकरण घटनास्थल वरपर तयारी अवस्थामा राखिन्छ।

'ड्याम्म' एक राउन्ड गोली चलेको आवाज होटल टुँडिखेल भित्रबाट आउँछ। बन्धक एक विदेशीको शव बाहिर फालिन्छ। सुरक्षा निकायलाई आफ्ना माग पूरा गर्न आतंकवादीको धम्की थियो, त्यो ।

यतिबेलासम्म सेनाले आफ्ना धेरै टाढाबाट निशाना लगाउन सक्ने बन्दुकधारी (स्नाइपर) लाई तयार पारिसकेको हुन्छ।  सिंहदरबारमा प्रधानमन्त्री, रक्षा र गृहमन्त्री छलफलमा व्यस्त छन। केन्द्रीय सुरक्षा समितिको आपत्कालीन बैठक बस्छ। सेनालाई बन्धक मुक्त गर्ने सबै जिम्मेबारी दिने निर्णय बैठकले गर्छ।

सरकारबाट अनुमति पाएपछि सेनाको कारबाही सुरु हुन्छ। सेनाको प्रतिआतंकवाद कारबाहीका लागि तालिमप्राप्त श्री भैरबनाथ गणलाई जंगी अड्डाले परिचालन गर्छ। रेञ्जर फौजले कारबाही सुरु गर्छ।

घटनास्थलमाथि लगातार ड्रोन क्यामरा उडिरहेको छ। होटल टुँडिखेलमाथि एक्कासी दुइटा हेलिकप्टर देखिन्छन्। पश्चिम र उत्तरबाट टंयाकसहित कमान्डो आउँदैछन्। घटनास्थल छेउमा आगो लाग्छ। ठूलो आवाजमा साइरन बजाउँदै दमकल आगो निभाउन पुग्छ। उता माथिबाट हेलिकप्टरबाट कमान्डो डोरीको सहयोगमा होटलको छतमा पुग्छन्। केही सेकेन्डमा होटल टुँडिखेलभित्रबाट दर्जनौं राउन्ड गोली पड्केको आवाजमात्र आउँछ। यता दक्षिणबाट ल्याडरसहित अर्को टोली होटलमा प्रवेश गर्छ। करिब आधा घन्टाको अप्रेसनमा बन्धक सबै सकुशल मुक्त गर्न सेना सफल हुन्छ। केही आतंकवादी मारिन्छन्, केहीलाई सेनाले पक्राउ गर्छ।

सैनिक मञ्चमा रहेका सबैले ताली पिट्छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल आपसमा केही कुराकानी गर्छन्। उपस्थित सबैका लागि सेनाको आतंकवादीविरुद्धको यो 'ट्रायल' कारबाहीले आर्कषण गर्छ।

यो सेनाले सैनिक दिवसका अवसरमा शुक्रबार सैनिकमञ्च टुँडिखेलमा गरेको आतंकवादीविरुद्ध कारबाहीको नमुना प्रदर्शन हो। नेपाली सेनाले पहिलो पटक राष्ट्रप्रमुखदेखि कूटनीतिक नियोगका प्रमुख सामु यो नमुना प्रर्दशन गरेको हो।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले विश्वव्यापी आतंकवादबाट नेपालमा हुनसक्ने सम्भावित खतराको आंकलन गर्दै कारबाहीको नमुना प्रर्दशन गरिएको बताए। 'आतंक प्रतिकारमा हाम्रो क्षमता र कार्यकुशलता प्रर्दशन हो यो, अन्तर्राष्ट्रिय जगतलाई आतंकवादविरुद्धका कारबाहीमा हाम्रो विशेष फौज तैनाथ छ भन्ने सन्देश दिन खोजिएको हो,' कार्कीले भने।

प्याराजम्पमा पतुवार प्रथम

सैनिक हुद्दा रुवेन पतुवार प्याराजम्पमा प्रथम भएका छन्। सैनिक हेलिकप्टरबाट हजारौं मिटर माथिदेखि प्यारासुटको सहायताले टँुडिखेलमा बनाइएको निसानामा जम्प गर्ने जोखिमपूर्ण कला प्याराजम्प हो। पतुवार मात्र निसानामै उत्रिएका थिए। अर्का जमदार अर्जुन गौतम दोस्रो भए। दुवैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरिन्।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पेशागत प्रतियोगितामा प्रथम हुने  दुर्गाबक्स गण र  केवलजंग गुल्मलाई  पुरस्कार प्रदान गरे। यसवर्ष प्रकृति संरक्षण ट्रफीमा वीरभद्रजंग गुल्म र श्रीजंग गण प्रथम भए। खेलकुद प्रतियोगिता, २०७३ मा मध्यपृतना प्रथम  भयो।

७३ लाई मानार्थ उपसेनानी र ३५१ लाई निशान

सेनाले ७३ जनालाई मानार्थ उपसेनानी दर्जा प्रदान गरेको छ। सेनामा विशेष योगदान र वीरता प्रर्दशन गरेका तल्लो दर्जाका सिपाहीलाई मार्नाथ उपसेनानी पदबाट सम्मान गरिएको हो।

यस्तै स्वदेशी तथा विदेशी गैरसैनिक, सैनिकसँग सम्बन्धित व्यक्तिसहित सहयोगी तीन सय ५१ जनालाई  प्रधान सेनापति प्रशंसा निसान प्रदान गरिएको छ।

सैनिक मञ्चमा आयोजित समारोहमा सेनाले आफ्ना युनिटकका बिशेषता र क्षमता सहितको प्रदर्शनीसमेत गरेको थियो।

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:०४ शनिबार

आतंकवादविरुद्ध ट्रायल कारबाही