समाज

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

खोटाङ- दुई हप्ता बित्दा समेत लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न दोषी पहिचान गर्न सकेको छैन। माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पहिचान हुन नसकेको हो। घट्नाको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान आफै टोली लिएर घट्नास्थल पुगेर फर्किए पनि दोषी पहिचान हुन नसकेको हो।

घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सूचनाका आधारमा शंकास्पद व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। दोषी पत्ता लाग्न नसक्दा आफन्त थप चिन्तित छन्। प्रहरीका अनुसार घट्नाका बिषयमा अनुसन्धान जारी छ।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७३ ०८:१९ शुक्रबार

दुई बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन